युरोकप अघि पोर्चुगलको शानदार जित, ब्रुनो र रोनाल्डोको जोडी चम्कियो

युरोकप फुटबलको तयारीमा रहेको साबिक विजेता पोर्चुगल अभ्यास अन्तर्गतको मैत्रीपूर्ण खेलमा शानदार जित निकाल्न सफल भएको छ ।

युरोकप अघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा बुधबार राति पोर्चुगलले इजरायलमाथि ४–० को जित दर्ता गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गरेको हो । उसका लागि ब्रुनो फेर्नान्डेसले दुई तथा क्रिष्टियानो रोनाल्डो र क्यानसेलेले एक–एक गोल गरे ।

४२ औँ मिनेटमा फेर्नान्डेसले गोल गरि टिमलाई सुरुवाति अग्रता दिलाए । ४४ औँ मिनेटमा रोनाल्डोले अग्रता दोब्बर पारे ।

क्यानसेलोले ८६ औँ मिनेटमा गोल गरे भने फेर्नान्डेसले इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगलले ४–० को जित दर्ता गर्न सफल भएको हो ।

फेर्नान्डेसले ४४ औँ मिनेटको गोलका लागि रोनाल्डोलाई सहयोग पनि गरेका हुन्। पोर्चुगलले युरोकप २०२० अन्तर्गत आउँदो मंगलबार हंगेरीसँग आफ्नो पहिलो खेल खेल्ने छ ।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्