आँखाले जातिभेदी व्यवहार देखाएको भन्दै सर्बियाकी भलिबल खेलाडीलाई प्रतिबन्ध!

कारबाही भएकी खेलाडी।

खेलकाे दौरान आँखाले जातिभेदी व्यवहार देखाएको भन्दै सर्बियाको महिला भलिबल राष्ट्रिय टोलीकी एक सदस्यलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ।

गत साता थाइल्यान्डविरुद्ध भएको खेलमा सान्जा युर्येभिचले हातका औँला आफ्ना आँखातिर देखाएकी थिइन्। उनको यो व्यवहारलाई लिएर सामाजिक सन्जालमा आलोचना भएको थियो।

सर्बियाको भलिबल संघले यसलाई गलत बुझिएको भन्दै युर्येभिचको बचाउ गर्ने प्रयाश गरेको थियो। उक्त संघलाई पनि १५ हजार ८ सय ३२ पाउण्ड जरिवाना गरिएको छ।

अन्तर्राष्ट्रिय भलिबल संघले दुवैलाई कारबाही गरेको हो। आलोचना बढेपछि युर्येभिचले माफी मागेकी थिइन्। उनले अब बेल्जियम र क्यानडाविरुद्ध हुने खेल गुमाउने छिन्।

पछिल्लो समय अमेरिकामा एसियली मुलका मानिसहरुविरुद्ध शृंखलाबद्धरुपमा जातिभेदी व्यवहारहरु भइरहेका छन्।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्