टोकियो ‌ओलम्पिकका लागि ७६ प्रतिशत खेलाडी छनौट भइसके-आईओसी

कोरोना महामारीका कारण टोकियो ओलम्पिकलाई लिएर अन्यौलता सृजना भइहेका बेला अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी-आईओसीले उक्त प्रतियोगिताका लागि ७६ प्रतिशत खेलाडी छनौट भइसकेको जनाएको छ।

२० प्रतिशत खेलाडी जुलाई २३ तारिखसम्मको वरियताका आधारमा र ४ प्रतिशत खेलाडी जुन २९ तारिखसम्म हुने छनोट प्रतियोगितामार्फत तय हुने आईओसीले जनाएको छ। प्रतियोगिता आयोजना गर्न आईओसी, जापान सरकार, टोकियो ओलम्पिक आयोजक समिति दृण भएर लागेका छन्।

केही देशका खेलाडी जापान पुगिसकेका छन्। जापानले कोरोना महामारी नियन्त्रण गर्न उच्च सतर्कता अपनाइरहेको छ। बुधबार बसेको आईओसीको बोर्ड बैठकपछि  ८ हजार ५ सय खेलाडी छनाैट भइसकेको जानकारी दिइएको हो। खेलाडी तथा अफिसियल बस्ने ओलम्पिक तथा पारा ओलम्पिक भिलेज जुलाई १४ तारिखमा खुल्ने छ। प्रतियोगिता सुरु नहुँदासम्म त्यहाँ बस्ने ८० प्रतिशतले खोप लगाइसकेको हुने आईओसीले जनाएको छ।

‘हामीलाई हरेक राष्ट्रिय ‌ओलम्पिक कमिटी र खेलाडीलाई खोपलाई लिएर गर्न सकिने सहयोगका विषयमा सम्पर्क गरिरहेका छौँ। हामी अन्तिम समयसम्म यसलाई जारी राख्ने छौँ’, आईओसीको ओलम्पिक खेलकुद कार्यकारी निर्देशक क्रिस्टोफे दुबीले भने।

हालसम्म उत्तर कोरियाले मात्र प्रतियोगिता नखेल्ने निर्णय गरेको छ। कोरोना भाइरसको महामारी र विभिन्न भेरियन्टको लहरका कारण विश्वमा अहिले पनि धेरै देशले यात्रामा प्रतिबन्ध लगाएका छन् भने हवाई उडान पनि प्रतिबन्धित छ।

टोकियो ‌ओलम्पिक खेलकुद जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म आयोजना हुने छ। त्यसपछि अगष्ट २४ तारिखबाट पारा ओलम्पिक खेलकुद सुरु हुने छ।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्