रुसलाई बाइडेनको चेतावनी–हानिकार गतिविधि भए ठोस परिणाम भोग्नु पर्नेछ

अमेरिकी राष्ट्रपति जो बाइडेनले कुनै पनि प्रकारका हानिकारक गतिविधिमा संलग्न नहुन रुसलाई चेतावनी दिएका छन् ।

राष्ट्रपतिको जिम्मेवारीमा आएपछि पहिलोपटक विदेश भ्रमणमा निस्किएका बाइडेनले बेलायत पुगेर रुसलाई चेतावनी दिएका हुन् ।

कुनै पनि प्रकारको हानिकारकर गतिविधिमा संलग्न भएमा रुसले ठोस र अर्थपूर्ण परिणाम भोग्नु पर्ने बाइडेनले बताएका छन् ।

बुधबार सफोल्कमा रहेको आरएएफ मिल्डेनहल एअरबेसमा अमेरिकी सैनिक तथा उनीहरुका परिवारलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले आफूले रुससँग तनाव नचाहेको, आफूहरुको उद्देश्य स्थायित्व र सामान्य सम्बन्ध रहेको बताए । तर रुसी सरकार कुनै पनि हानिकारक गतिविधिमा संलग्न भएमा अमेरिकाले ठोस र अर्थपूर्ण जवाफ दिने उनले स्पष्ट पारे ।

बाइडेनले आफ्नो भ्रमणको उद्देश्य आफ्ना सहयोगी राष्ट्रहरुसँगको अमेरिकाको सम्बन्ध बलियो बनाउनु रहेको स्पष्ट पारेका छन् । डोनाल्ड ट्रम्पको चार वर्षे शासनकालमा ‘पहिले अमेरिका’ नीतिका कारण अमेरिका विश्व नेतृत्वबाट ओझेल परेको थियो ।

बाइडेन बुधबार बेलुका बेलायत पुगेका हुन् । उनले बिहीबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गर्ने छन् । उनीहरुबिच जलवायु परिवर्तन र सुरक्षा चुनौतिसहितका विषयलाई समेटिएको ‘एट्लान्टिक चार्टर’मा सहमति हुनेछ ।

बाइडेन ८ दिने युरोप भ्रमणमा छन् । उनले बेलायती महारानीसँग भेटवार्ता गर्ने छन् भने विकसित देशहरुको समूह जी सेभेनको बैठकमा भाग लिने छन् । यस्तै नेटोको सम्मेलनमा पनि सहभागी हुने छन् ।

भ्रमणको अन्त्यमा उनले जेनेभामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटमा हतियार नियन्त्रण, जलवायु परिवर्तन, युक्रेनमा रुसी सैनिकको संलग्नता, रुसबाट हुने साइबर आक्रमण तथा रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीसहितका विषयमा कुरा गर्ने ह्वाइट हाउसले जनाएको छ ।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्