ओलीले ‘जब्बर केटो’ नाम दिएका पहाडीलाई मन्त्री उपहार

काठमाडौँ – माधव नेपाल पक्ष छाडेर अध्यक्ष केपी ओलीतिर ढल्किएका गणेश पहाडी बिहीबार सामान्य प्रशासन मन्त्रीको शपथ ग्रहण गर्दैछन्।

ओलीले रिक्त रहेको आठ सदस्यीय मन्त्रिपरिषदमा माओवादी छाडेर आएका, नेपाल पक्ष छाडेर आएका, जसपा र आफ्ना विश्वास पात्रलाई मन्त्री बनाउन लागेका हुन्।

एमालेमा सधैँ ओली विरोधी खेमामा रहँदै आएका पहाडीले निर्णायक र संकटपूर्ण घडीमा भने नेपाललाई छाडेका छन्। र त्यस बापत उनलाई ओलीले मन्त्री पदले पुरस्कृत गर्न लागेका हुन्।

कुनै बेला ओलीले आफ्नो कित्तामा उभिन आग्रह गर्दा पहाडीले अस्वीकार गरेपछि उनलाई ‘जब्बर’ को संज्ञा दिएका थिए।

२०७० को चुनावपछि ओलीले तत्कालीन अध्यक्ष झलनाथ खनालविरुद्ध संसदीय दलको नेतामा उम्मेद्वारी दिएका थिए। त्यसबेला ओलीले मतदानका लागि आग्रह गरे पनि आफूले अस्वीकार गरेपछि आफूलाई ओलीले ‘जब्बर केटो’ भनेको पहाडीले निकटस्थहरुसँग बताउने गरेका छन्।

केही समयअघि उनले अरु सांसदहरुसँगको अनौपचारिक भेटघाटमा २०७० को उक्त प्रसंग कोट्याउँदै भनेका थिए, ‘उहाँले मलाई संसदीय दलमा सहयोग गर्नुपर्‍यो भन्नुभयो। मैंल गर्दिन भने, त्यसपछि धेरै बेर कुरा हुने वातावरण नै भएन। म कोठाबाट बाहिर निस्किदै थिए, ढोका आइपुगेपछि उहाँले भित्रबाट केटो त जब्बर रहेछ भनेको सुनेँ।’

अघिल्लोपटक संसद विघटन गर्दा आफूलाई साथ नदिएको भन्दै नेता योगेश भट्टराईलाई ओलीले सार्वजनिक रुपमै ‘बैगुनी केटो’ भन्दै व्यंग्य गरेका थिए। आफूले मन्त्री बनाए पनि भट्टराईले ‘पुक्क लात्तीले हानेर हिँडेको’ ओलीको भनाइ थियो।

ओलीले विराटनगरको एक आमसभामा भट्टराईलाई कटाक्ष गर्दै भनेका थिए, ‘मन्त्री बनाए अहिले त पुक्क लात्तीले हानेर हिँड्यो, बैगुनी केटो।’

सिन्धुलीको गाना फिक्कल गाउँपालिका ४ मा जन्मिएका पहाडी विद्यार्थी गतिविधिबाट राजनीतिमा आएका हुन्। २०४० सालदेखि अनेरास्ववियु एकताको पाँचौबाट सदस्यता प्राप्त गरी विद्यार्थी राजनीतिक सुरुवात गरेका उनले २०४७ सालमा नेकपा एमालेको संगठित सदस्यता गरेका थिए।

२०५१ मा नेकपा (एमाले) सिन्धुली काठमाडौ सम्पर्क कमिटी भएका उनी २०५२ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य र २०६५ एमाले सिन्धुली जिल्ला सचिव भए। २०६६ जिल्ला संयोजक भएका पहाडी हाल एमाले केन्द्रीय सदस्य हुन्।

उनी २०७० मा सिन्धुली १ बाट निर्वाचित भएका थिए भने २०७४ मा पनि सिन्धुली १ बाटै निर्वाचित भएका थिए।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्