सन्तानमा पढ्ने चाहना हराएपछि अभिभावकमा चिन्ता

धनगढी – बढ्दो कोरोना संक्रमणका कारण कैलालीमा लामो समय विद्यालय बन्द हुँदा घरमै बसिरहेका विद्यार्थीमा पढ्ने बानी हराउँदा अभिभावकमा चिन्ता थपिएकोे छ।

कोरोना संक्रमण तीव्र भएपछि गत वैशाखको पहिलो साताबाट जारी निषेधाज्ञा नखुल्दा घरपरिवारसँगै बसिरहेका विद्यार्थीमा मोबाइल चलाउने, टेलिभिजन हेर्ने तथा इन्टरनेटमा झुम्मिने बानीका कारण पढ्ने बानी कम भएपछि आफूहरूमा चिन्ता थपिएको अभिभावकहरुको भनाइ छ।

नियमित अध्ययन र गृहकार्यको बोझ विद्यालय बन्द हुँदा कम भएको महसुस गरी आफ्ना अन्य गतिविधिमा विद्यार्थी व्यस्त हुँदा पनि उनीहरूको पढ्ने चाहनामा कमी आउने शिक्षकहरूको भनाइ छ।

सन्तानको पढाइप्रतिको लगाव कम भएकाले अभिभावकले चिन्ता मानेर बस्नुभन्दा उनीहरूलाई पुस्तकसँग कसरी नजिक बनाउने भन्नेबारे सोच्नुपर्ने जानकारहरू बताउँछन्।

पहिले कक्षामा राम्रै नतिजा ल्याउने तथा विद्यालयबाट घर फर्कनेबित्तिकै खाना खाजा खाएर पढ्न बसिहाल्ने घोडाघोडी नगरपालिका–१० स्थित कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले निषेधाज्ञा भएदेखि हालसम्मको समयमा एकदिन पनि अध्ययनलाई ध्यान नदिँदा उनका अभिभावक अहिले चिन्तामा छन्।

कक्षामा जहिले राम्रो नतिजा ल्याउने आफ्नो सन्तानको यस्तो अवस्था देखेपछि धेरै सम्झाइबुझाइ गर्ने प्रयास गर्दागर्दै पढ्न नमानेको ती विद्यार्थीका अभिभावकले बताए।

निषेधाज्ञाको समयमा घरमै बसिरहँदा सुरुमा पट्यार लागेका कारण मोबाइल चलाउने, टेलिभिजन हेर्ने तथा इन्टरनेटमा गेम खेलिरहने गरेका कारण पछि पनि जति सम्झाउँदा विद्यार्थीले पढ्न ध्यान नदिँदा समस्या आएको घोडाघोडी नगरपालिका–११ का हरिराम चौधरीले बताए।

उनले भने, ‘कक्षा ८ मा अध्ययनरत १६ वर्षीय छोराले निषेधाज्ञाको समयमा एक पटक पनि किताब समाएर नबसेको देखेपछि बारम्बार सम्झाउँदा पनि पढ्न खासै ध्यान दिएन, आजभोलि त भन्न पनि छाडिदिएँ, जति भने पनि पढ्न मान्दैनन्।’

पढ्ने बानीको विकास त विद्यार्थीमा विद्यालयबाटै भएको हुन्छ तर त्यसमा अभिभावकको भूमिका पनि हुनुपर्छ नत्रभने लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीमा स्वाभाविक रूपमा पढ्ने चाहना तथा बानी कमजोर हुँदै जाने राष्ट्रिय कलेजका उपप्राध्यापक प्रभात बोगटीको भनाइ छ।

विद्यालय नगई घरमै लामो समय बसिरहँदा अभिभावकले आफ्ना सन्तानलाई पाठ्यक्रमका पुस्तकसँगै अन्य रचनात्मक पुस्तक अध्ययनका लागि उत्प्रेरित गर्नुपर्ने उनले बताए।

नियमित विद्यालय जानु नपर्दा विद्यार्थीलाई गृहकार्यको ठूलो बोझ हटेको महसुस हुने भएका कारण पनि पढ्ने चाहना कमी आउने भएकाले अभिभावकले आफ्ना बालबालिकालाई प्रेरणात्मक शैलीले पढ्ने वातावरण बनाउनुपर्ने उपप्राध्यापक बोगटीको भनाइ छ।

अभिभावकको व्यवहार र बालबालिकको मनोविज्ञान

बालबालिकाको मनोविज्ञान यतिबेला अभिभावकको व्यवहार र भूमिकाअनुरुप निर्धारण भएको मनोविश्लेषकको भनाइ छ।

यो बेला अभिभावकले कुन तरिकाले शिक्षा दिएका छन्, कोरोना संक्रमणबाट कसरी बच्न सिकाएका छन्, कसरी नआत्तिन सिकाएका छन्, घरमा बस्दा बालबालिका लागि कुन वातावरण सिर्जना गरिदिएका छन् भन्ने कुराले निर्धारण गर्ने उनीहरूको भनाइ छ।

यो बेला बालबालिकाले कहिल्यै नभोगेका कुरा भोगिरहेका छन्। साना बालबालिका घरभित्र बस्दा एक किसिमको रमाइलो हुन्छ।

तर, यस्तो बेला परिवारले बालबालिकालाई नबुझेर गाली गर्दा मनोवैज्ञानिक असर पर्ने उनीहरूको बुझाइ छ।

मनोविश्लेषकका अनुसार यो बेलामा अभिभावक आफैं चिन्तामा हुन्छन्। त्यसकारण केही अभिभावक रिसाउने, गाली गर्ने वा पिट्ने प्रकृतिका हुन्छन्।

बाहिर जाँदा पनि गाली गर्ने, भित्र खेल्यो भने पनि गाली गरेको हुन सक्छ। यस्तो हुँदा बालबालिकाको मनोविज्ञानमा असर पर्न सक्छ।

आमरूपमा शिक्षक, अभिभावक, अग्रजहरूले बालबालिकालाई तिमीहरूको पढाइ छुट्यो, बर्बाद भयो भन्ने मानसिकताको विकास गराउनु हुन्न।

हामी विद्यालय नै नजाँदा पनि सिकाइ जीवनपर्यन्त चलिरहन्छ भन्ने कुरा बुझाउन सक्नुपर्ने उपप्राध्यापक बोगटीको भनाइ छ। नीति निर्माण तहमा रहेकाले पनि बालबालिकालाई मनोवैज्ञानिक रूपमा बलियो बनाउनका लागि प्रभावकारी संयन्त्र बनाउनुपर्ने उनले बताए।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्