ब्याडमै काउली फुलेपछि किसान चिन्तित

टिस्टुङ – मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक खेतीका लागि रोपिएको केही दिनमै काउली फुलेपछि कृषक चिन्तित भएका छन्।

थाहा नगरपालिका–३ की मीना पाख्रिनले २ रोपनी जग्गा भाडामा लिएर काउली खेती गरेकी थिइन्।
उनले भनिन् ‘रोपेको दुई सातामै काउली फुल्यो। तर, निकै सानो फुलेर बिक्रीका लागि योग्य नभएपछि काउली फालेर उक्त जग्गामा मकै रोपेँ।’

सोही नगरपालिका वडा नम्बर १ र २ का कृषक सुदीप थोकर र श्रीकृष्ण श्रेष्ठको हालत पनि उस्तै छ। एक महिनाअघि असिनाले आलु खेती सखाप पारेर आक्रान्त बनेका कृषक व्याडबाट रोप्न तयार भएको काउली ब्याडमै फुलेपछि थप चिन्तित बनेका हुन्।

थाहा नगरका सयभन्दा बढी किसानले खेतबारीमा लगाएको काउली समय नपुग्दै फुलेको छ। फुलेको काउलीको वजन १०० ग्रामसम्म पनि नभएको पीडित कृषक बताउँछन्।

जापानिज कम्पनीको ह्वाइट टप र सुपर ह्वाइट टप जातको काउली ब्याडमै फुलेको उनीहरूको गुनासो छ।

यी जातका काउलीलाई पानी धेरै चाहिने भएकाले अहिले सुक्खा समयमा रोपिएकाले समय नपुग्दै फुलेको थाहा नगरपालिका कृषि शाखाका प्रमुख सञ्जय तिवारीको भनाइ छ। खडेरी, छिप्पिएको बेर्ना वा नाइट्रोजनको कमीले समय नपुग्दै फुल्न सक्ने उनी बताउँछन्।

नगर कृषि शाखा प्रमुख तिवारीले पहिलो चरणमा लगाइएका काउली समय नपुग्दै फुलेको कृषकबाट गुनासो आएको बताए। बिउमा भने समस्या नदेखिएको उनको जिकिर छ।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्