अस्ट्रेलियासँग खेलेर नेपालले कतार विश्वकपको छनोट बिट मार्दै, गुमाउनु केही छैन

काठमाडौं-  कतारमा आगामी वर्ष आयोजना हुने विश्वकपको एसियाली छनोटमा नेपालको वास्तविक सम्भावना नै दोस्रो चरणसम्म थियो।

नेपालले सोझै दोस्रो चरणमा प्रवेश पाएको थियो र भिड्नुपर्ने थियो समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईसँग। ताइपेईभन्दा बाहेकका सबै टोली नेपालभन्दा निकै शसक्त भएकाले र समूहको विजेता टोली र ८ वटा समूहका चार वटा मात्र उपविजेता टोली तेस्रो चरणमा पुग्ने भएकाले नेपालको अगाडि बढ्ने सम्भावना अत्यन्त न्युन थियो।

बरु यहि प्रतियोगितामार्फत एसिया कपको छनोट पनि हुने भएकाले नेपालको ध्यान त्यतातर्फ थियो। त्यसमा पनि विश्वकपको एसियाली छनोटको तेस्रो चरणमा पुग्ने टोलीहरु एसिया कपका लागि पनि छनोट हुने र बाँकी उपविजेता टोली र तेस्रो स्थानका टोली एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने व्यवस्था भएकाले नेपालको प्रयाश एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने भन्ने थियो। जुन निकै कठिन पनि थियो।

नेपालको अन्तिम आशा भनेको समूहको चौथो स्थानमा रहेर एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने भन्ने थियो। तर त्यसमा पनि ८ वटा समूहका सर्वोत्कृष्ट चार वटा चौथो टोलीमा पर्नु पर्ने थियो। तर नेपालको दुर्भाग्य भन्नुपर्छ- अर्को समूहमा उत्तर कोरियाले नखेल्ने भएपछि हरेक समूहमा पाचौँ तथा अन्तिम स्थानका टोलीविरुद्ध प्राप्त जितले सर्वोत्कृष्ट चार उपविजेता र चार वटा चौथो टोली छनोटका लागि मान्यता नपाउने प्रावधान राखियो।

समूहमा नेपालले हात पारेका दुवै जित पाचौँ स्थानको चाइनिज ताइपेईविरुद्ध भएकाले नेपालले अब एसिया कप छनोटको तेस्रो चरणमा पुग्न प्ले अफ खेल्नुपर्ने सम्भावना बलियो छ। ८ वटा समूहका ८ वटा चौथो टोलीमध्ये नेपाल सातौँ स्थानमा छ र एक अंक पनि छैन। त्यसअघि नेपालले जारी विश्वकप छनोटको आफ्नो अन्तिम खेलमा शुक्रबार बलियो टोली अस्ट्रेलियासँग खेल्ने छ।

समूहमा अस्ट्रेलिया ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको जोर्डनको ६ खेलबाट १३ र तेस्रो स्थानको कुवेतको ६ खेलबाट १० अंक छ। सात खेलबाट ६ अंक भएको नेपाल चौथो स्थानमा छ। समान खेल खेलेको चाइनिज ताइपेईले भने अंक जोड्न सकेको छैन।

त्यसैले नेपालले शुक्रबार अस्ट्रेलियासँग खेल्दा दबाबमा  हुने छैन। नेपाल यसअघि अस्ट्रेलियासँग भएको पहिलो खेलमा ५-० गोलले पराजित भएको थियो। नेपाली टोली पछिल्लो खेलमा गत जुन ७ तारिखमा जोर्डनसँग ३-० गोलले पराजित भएको थियो। नेपाली टोलीलाई विश्वकप खेलिरहेको टोलीसँग फेरी एकपटक अनुभव बटुल्ने मौका हुने छ। नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिइने बताएका छन्।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्