कोरोनाबाट अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन

काठमाडौँ– कोरोना भाइरसको संक्रमणबाट अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्यसमेत रहेका ७० वर्षीय बास्तोलाको उपचारको क्रममा बिहीबार बिहान ३ः१० बजे पोखराको चरक अस्पतालमा निधन भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि पोखरास्थित रिजनल अस्पतालमा उपचाररत बास्तोलाको स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार पोखराकै चरक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

कास्कीको पुरञ्चौरमा जन्मिएका पोखराका स्थायी बासिन्दा पत्रकार बास्तोला विगत चार दशकदेखि पत्रकारितामा त्रियाशिल थिए। उनले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्युज, आदर्श समाज र स्वतन्त्र सन्देशलगायतमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको जिम्मेवारी निर्वाह गरेका थिए।

पत्रकार बास्तोलाको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ।

कोरोनाबाट हालसम्म देशभर २० जना पत्रकारले ज्यान गुमाएको महासंघले जनाएको छ।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्