पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा हुने

फाइल तस्बिर

काठमाडौँ – नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बंगालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।

उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँ–ठाउँमा भारी वर्षासमेत हुने जानकारी दिए।

‘हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक–दुई दिनभित्रै मनसुन भित्रिएको घोषणा हुनेछ’, पौडेलले थपे, ‘वर्षा विस्तारै बढ्न थालेको छ, आगामी हप्ता ठाउँठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउन सक्छ, सचेत हुन अनुरोध गर्दछु।’

उनका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन।

मौसमविद् गंगाा नगरकोटीका अनुसार देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम छ। त्यसले बाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश १ का केही भेगमा वर्षा जारी छ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि वर्षा भएको छ। बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षा हुनेछ। सामान्य रूपमा १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो।

यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी आइतबार हो। अक्टोबर २ मा बाहिरिनेछ। सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकार्हीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिन सक्छ।

प्राप्त विवरणअनुसार बिहीबार २१४ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ८५ र स्वचालित १२९) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार १०८ केन्द्रमा वर्षा भएको छ। उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा ११२ मिलिमिटर भएको छ।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्