कहाँ जाँदै छ हात्तीहरुको यो झुण्ड?

विश्वका अधिकांश वन वन्यजन्तु प्रेमीको ध्यान अहिले चीनमा आफ्नो प्राकृतिक बासस्थान छोडेर लामो यात्रामा रहेका जंगली हात्तीहरुको समूहले तानेको छ।

१५ महिनापहिले आफ्नो प्राकृतिक बासस्थानबाट निस्किएका १६ हात्तीमध्ये अहिले समूहमा १५ हात्ती छन्। समूहमा रहेको एउटा भाले हात्ती अरु १४ हात्तीभन्दा झण्डै १४ किलोमिटर पछि परेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

एसियाली जंगली हात्तीको समूह सन् २०२० को मार्चमा पहिलोपटक आफ्नो प्राकृतिक बासस्थान युनान प्रान्तको जंगलबाट हिँडेको थियो।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार १६ हात्तीको समूह गएको नोभेम्बरमा युनान प्रान्तको पुएर पुगेका थिए। त्यहाँ एक पोथी हात्तीले छावा जन्माइन्।

हात्तीहरुको समूह पाँच महिना त्यहीँ बस्यो। त्यसपछि गएको अप्रिल १६ मा सो समूह फेरि हिँड्न थालेको थियो। त्यसको एक हप्तापछि दुई हात्तीले समूह छोडे, १५ हात्तीले यात्रा निरन्तर गरेका हुन्। यात्रामा हुनेमा बाटोमा जन्मिएको छावामा पनि हो।

झण्डै ५०० किलोमिटरको यात्रा तय गरेपछि अहिले हात्तीहरुको समूह आफ्नो प्राकृतिक बासस्थान तर्फको सही दिशा दक्षिण पश्चिम तर्फ लागेको चिनियाँ अधिकारीहरुले बताएका छन्।

बुधबार युसी क्षेत्रमा आरामका लागि सुतेका हात्तीहरु फेरि हिँड्न थालेको उनीहरुको गतिविधि नियालीहरुको सरकारी समूहका अधिकारीले जानकारी दिएका छन्।

पाँच दिनअघि समूहबाट छुट्टीएको भाले हात्ती समूह भन्दा १२ किलोमिटर पर एनिङ्गको जंगलमा रहेको छ। सबै हात्तीहरु सुरक्षित र स्वस्थ रहेको जनाइएको छ।

हात्तीको समूहले किन आफ्नो प्राकृतिक बासस्थान छोडेर मानवबस्ती तथा शहरी क्षेत्र हुँदै यति लामो यात्रा तय गरे भन्ने खुलेको छैन। वन्यजन्तु विदहरु सम्भावित कारणको खोजीमा छन्। तर हात्तीहरुले यात्राको क्रममा जंगल, घाँसे मैदान, ग्रामीण क्षेत्र तथा शहरी क्षेत्र पार गरेका छन्। उनीहरुले भौतिक संरचना भत्काए भने ठूलो क्षेत्रफलमा लगाइएका मकैसहितका बाली खाएका छन्।

हात्ती तथा स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चितता तथा निगरानीका लागि १३ सय मानिस, ३२९ सवारी साधन, ११ वटा ड्रोन परिचालन गरिएको छ। हात्तीका लागि झण्डै २.१ टन खाद्यान्न तयारी अवस्थामा राखिएको छ।

हात्तीहरुको यो लामो रोमाञ्चक यात्रा सुरु भएयता मानवीय क्षति भने भएको छैन । तर उनीहरुले १० लाख अमेरिकी डलर भन्दा बढिको भौतिक तथा बालीमा क्षति गरेका छन् ।

भिडियो:

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्