घर सम्हालिरहेकी बादल पत्नी नैनकलाले कसरी सम्हाल्लिन् सञ्चार मन्त्रालय?

काठमाडौँ–पार्टीमा आफू निष्क्रिय रही पति रामबहादुर थापा ‘बादल’लाई सक्रिय बनाउन योगदान पुर्‍याएकी नैनकला थापा सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनेकी छिन्।

सर्वोच्च न्यायलयको आदेशका कारण गृहमन्त्रीमा रहन नसके पनि नेकपा (माओवादी केन्द्र) त्यागेर पछिल्लो राजनीतिक संकटमा बादलले ओलीलाई निरन्तर साथ दिएबापत् ओलीले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी उपहार स्वरुप बादल पत्नी नैनकलालाई सुम्पेका छन्। अर्थात बादलले माओवादी त्यागेर एमाले रोजेपछि उनकी पत्नी नैनकला मन्त्री बन्न सफल भएकी हुन्।

बादल र नैनकलालाई नकिजबाट चिन्ने माओवादी केन्द्रका एक नेताले देशसञ्चारसँग भने, ‘ मन्त्रीमा नैनकलालाई देखाइने छ, मन्त्रालय चलाउने काम अब बादलबाटै हुनेछ।’ नैनकलामा मन्त्री बन्ने योग्यता नभएको उनले बताए। ओली र बादलबीचको बलियो राजनीतिक सहकार्यले नैनकलाको भाग्यरेखा कोरिएको र नैनकला मन्त्री बन्न पुगेको ती नेताको निष्कर्ष छ।

सर्वोच्च न्यायलयको आदेशका कारण गृहमन्त्रीमा रहन नसके पनि नेकपा (माओवादी केन्द्र) त्यागेर पछिल्लो राजनीतिक संकटमा बादलले ओलीलाई निरन्तर साथ दिएबापत् ओलीले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी उपहार स्वरुप बादल पत्नी नैनकलालाई सुम्पेका छन्। अर्थात बादलले माओवादी त्यागेर एमाले रोजेपछि उनकी पत्नी नैनकला मन्त्री बन्न सफल भएकी हुन्।

पार्टीमा नैनकलाको कस्तो योगदान छ?


बाग्लुङमा जन्मिइएकी नैनकला उच्च शिक्षाका लागि बुटुवल झरेकी थिइन्। अङग्रेजीमा स्नातक तहसम्म अध्ययन गरेकी नैनकला विद्यार्थी जीवनमा राजनीतिमा सक्रिय थिइन्। उनी तत्कालीन मोटो मसाल, महिला संगठनको केन्द्रीय अध्यक्षसम्म बन्न भ्याएकी थिइन्।

तर २१ वर्षको उमेरमा २०४० सालमा बादलसँग विवाह गरेर चितवन आएपछि उनले सक्रिय राजनीति त्यागेर बादललाई राजनीतिमा सक्रिय बनाउन भूमिका खेलिन्। विवाहपछि उनले जिल्लाको नारायणी माविमा पढाउन सुरु गरेकी थिइन्।

बादल भूमिगत राजनीतिमा रहेका बेला पार्टी निर्णय अनुसार उनी पनि केही समय बादलसँगै भूमिगत भएकी थिइन्। तर त्यसपछि उनको परिवारमा समस्या आयो। २०५४ सालमा नैनकलाले बादल पार्टीकै एक सदस्यसँग अनुचित सम्बन्धमा रहेको आरोपसहित पार्टी हेडक्वार्टरमा उजुरी दिइन्।

नैनकलाको उजुरीका आधारमा बादललाई सांस्कृतिक विचलनमा पार्टीले कारवाहीसमेत गर्‍यो। तत्कालीन माओवादी दस्ताबेजमा बादललाई ‘लीन प्याओवादी’ मार्गमा तल्लीन भएको आरोप लगाइएको छ। तर ‘लीन प्याओ’ लाई जसरी माओवादी नेतृत्वले बादललाई भौतिक सफाया भने गरेनन्।

यो घटनाको केही वर्षपछि अर्थात २०५७ सालमा नैनकलाले आफ्नो अध्यापन कार्यलाई बिट मारेकी थिइन्। घरपरिवार सम्हाल्नका निम्ति अझै फुर्सदिलो बनेकी नैनकलाले बादलको राजनीतिक सक्रियतामा भने योगदान दिइ नै रहिन्। यो बीचमा पार्टीमा नैनकलाको भूमिका भने सल्लाहकारमा सीमित थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि उनलाई पार्टीले राष्ट्रिय महिला आयोगको अध्यक्ष बनायो।

२०५७ सालमा स्थापना भएको आयोगको तेस्रो कार्यकालको नेतृत्व उनले गरेकी थिइन्। तर आयोगको जिम्मेवारी सकिएपछि उनी फेरि घरपरिवारकै हेरचाहमा फर्किन्। बादलले पटकपटक महत्वपूर्ण विभागसहित मन्त्री पद सम्हाल्दा परिवारको आयस्रोत विस्तार भएको पनि परिवारलाई नजिकबाट चिन्नेहरु बताउँछन्।

नैनकलाको नामामा ‘अपर’ तामाकोशी लगायत ‘हाइड्रो प्रोजेक्ट’ मा शेयर र चितवनलगायत विभिन्न ठाउँमा जग्गा भएको उनीहरुको भनाइ छ। अर्थात नैनकलाको जिम्मेवारीमा घरपरिवारको रेखदेख मात्रै होइन, बादलको सक्रिय राजनीतिका लागि पनि आर्थिक जोहो पनि परेको थियो।

तर पार्टी गतिविधिमा सक्रिय भूमिका नरहेकी नैनकलाले अचानक महत्वपूर्ण मानिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएकी छन्। पूर्वमन्त्रीहरुका निर्णयहरुले पटकपटक विवादमा तानिएको यो मन्त्रालयको साख उठाउन उनको कस्तो भूमिका रहला? नेतृत्व परिवर्तनको अखडा बनेको यो मन्त्रालय उनको निर्णय क्षमता कसरी प्रदर्शन होला? प्रश्नहरु अनुत्तरित छन्। आफू सरकारमा आएदेखि ओलीले यो मन्त्रालयमा पाँच पटक नेतृत्व बदलिसकेका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनका लागि गरेको ‘रेकर्डेड’ कुराकानी सार्वजनिक भएपछि ओलीका विश्वासपात्र गोकुल बास्कोटाले ८ फागुन २०७६ मा राजीनामा दिएका थिए। त्यसपछि ओलीले तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडालाई यो मन्त्रालयको पनि जिम्मेवारी थमाएका थिए।

तर खतिवडा मन्त्रीबाट बिदा भएपछि ओली आफैँले यो मन्त्रालय सम्हालेका थिए। तर पछि महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई यो मन्त्रालयको जिम्मेवारी सुम्पिए, १८ असोज २०७७मा।

तर सत्ता सुरक्षाका निम्ती ओलीले कुनै बेला आफूले ‘शत्रु’ घोषणा गरेका जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका १० जनालाई मन्त्रिपरिषद्‌मा ल्याउने क्रममा ओलीले मन्त्री गुरुङसहित एमालेका १३ जना मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाएका थिए।

नैनकलालाई नजिकबाट चिन्ने माओवादी केन्द्रकै एक अर्का नेताले भनिन,‘ उहाँले विद्यार्थी जीवनमा राजनीतिमा योगदान पुर्‍याउनु भएकै हो। तर विवाहपछि उहाँको पार्टीमा कुनै पनि किसिमको भूमिका थिएन। मन्त्री बन्नलाई उहाँसग कुनै क्षमता र योग्यता नहुनुका साथै अनुभवहीनता उहाँको अयोग्यता सावित हुन सक्छ।’

 

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्