‘महिला सशक्तीकरणका लागि सेल्फी विथ डटर’

काठमाडौँ – एक महिनादेखि नेपालमा सञ्चालित ‘सेल्फी विथ डटर’ अभियान बुधबार एक विशेष भर्चुअल कार्यक्रम आयोजना गर्दै सम्पन्न भएको छ।

‘सेल्फी विथ डटर’ दिवसको रुपमा नेपाल र भारतमा संयुक्त यो कार्यक्रम आयोजना गरिएको थियो।

केही वर्षदेखि नेपालको सामाजिक, प्राविधिक र अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको संस्था नेपाल इन्टरनेट फाउन्डेसनले भारतीय अभियन्ता सुनील जागलनसँगको सहकार्यमा महिला सशक्तीकरण तथा लैंगिक समानताको मूल मर्मसहित सेल्फी विथ डटर कार्यक्रम नेपालमा पनि सञ्चालन गरिएको हो।

नेपालमा सञ्चालित एक महिनाको अभियानमा हजारौं संख्यामा छोरीसँग सेल्फी पठाएका थिए।

यस अभियानमा प्रतिभा घिसिङ र उनकी छोरी प्रतिष्ठा लामाको सेल्फीले प्रथम पुरस्कार प्राप्त गरेको छ।यसैगरी, दक्षबहादुर राई र मोती सारासँग नातिनी निशुदिका राईको सेल्फीले दोस्रो स्थान प्राप्त गरेको छ भने यमुना प्रसार्इं र श्रेया पौडेलको सेल्फीले तेस्रो स्थान प्राप्त गरेको छ।

विजेतालाई ट्रफी र प्रमाणपत्रका साथ क्रमशः २१ हजार, ११ हजार र ५ हजार १ सय को पुरस्कार प्रदान गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा भारतका युनियन मिनिस्टर अफ स्टेट रावो इन्द्रजित सिंह मुख्य अतिथिको रूपमा उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले भारतमा सामाजिक चेतना बढाउन ‘सेल्फी विथ डटर’ अभियानले सकारात्मक प्रभाव पारेको बताए।

उनले नेपाल र भारत देशमा अझै पनि छोरीलाई हेला गर्ने र छोराभन्दा फरक व्यवहार गरेको हुँदा यसलाई निर्मूल गर्न प्रविधिमार्फत सामाजिक चेतना विकास गर्न यस्ता अभियान चलाउनुपर्ने बताए।

यसैगरी, कार्यक्रममा नेपाल सरकारका पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले विशेष सम्बोधन गरेकी थिइन्।

कार्यक्रममा सम्बोधन गर्दै महतोले नेपालजस्तो कम विकसित मुलुकमा अझै पनि छोराछोरीमा भेदभाव रहेको, दाइजोलगायत सामाजिक कुरीतिले समस्या ल्याएको र सेल्फी विथ डटर अभियान नेपालमा यत्तिको प्रचलित र यत्ति चाँडै वायरल भएको कुनै पनि अभियान नभएको बताइन्।

छिमेकी देश भारतबाट सुरु भएको छोरीहरूप्रति सम्मानको सामाजिक क्रान्ति नेपालमा पनि द्रुत गतिमा अघि बढिरहेको छ, भन्दै सेल्फी विथ डटरजस्तो अभियानले सामाजिक चेतना विकास गर्न सघाउ पुर्याउने बताइन्।

कार्यक्रममा भारत सरकार इलेक्ट्रोनिक्स तथा आइटी मन्त्रालयअन्तर्गत राष्ट्रिय इ(गभर्नेन्स महाशाखा प्रमुख अभिशेख सिंहको समेत उपस्थिति थियो।

उनले सम्बोधन गर्दै भारतमा प्रविधि र प्रविधिसम्बन्धी यस्ता अभियानले सामाजिक जीवनशैली सुधार्न र भेदभाव हटाउन सहयोग गरेको बताए।

सिंहले भने कि प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचारित सेल्फी विथ डटर अभियान बिहीबार एक विश्वव्यापी आन्दोलनको रूप लिँदै छन्।

यो सम्पूर्ण भारत र नेपालका लागि गौरवको कुरा हो। यसैगरी, दूरदर्शन भारतका सिनियर कन्सल्टिङ सम्पादक अशोक श्रीवास्तवले भारतीय मिडियाले ‘सेल्फी विथ डटर’ कार्यक्रमलाई दिएको प्राथमिकता र प्रधानमन्त्री नरेन्द्र मोदीले सेल्फी विद डटरजस्ता अभियानमा आफूलाई संलग्न गराएर प्रधानमन्त्रीको काम सरकार चलाउने मात्र नभई समाजमा व्याप्त खराबीविरुद्ध लड्न सामाजिक क्रान्ति सुरु गरेको बताए।

भारतका सुनील जागलनको नेतृत्वमा सुरु भएको यो अभियान भारत र नेपालमा लोकप्रिय भएको छ भने नेपालमा पनि यस किसिमको आभियानले छोरीलाई लैंगिक समानताको हिसाबले हेर्न र सोही किसिमले व्यवहार गर्न प्रोत्साहित गरेको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए।

एक महिनाअघि मे ९ देखि नेपालमा सुरु भएको ‘सेल्फी विथ डटर’ अभियान एक महिनाभित्रै लाखौं मानिस यस अभियानमा सामेल हुनुका साथै एकदमै लोकप्रिय भइरहेको छ, जसले समाजमा सकारात्मक प्रभाव छाडेको श्रेष्ठको भनाइ छ।

नेपालको कार्यक्रम संयोजक कल्पना श्रेष्ठले भनिन्, ‘यो कार्यक्रममा सहभागीले बनाएका सामाजिक भिडियो सन्देशले छोरीलाई हेला गर्ने समाजमा केही हदसम्म रुपान्तरण गरिरहेको पाएका छौँ।’

सेल्फी विद डटर कार्यक्रमले अहिलेको समयमा नेपाली छोरीहरूको मुहारमा स्थायी मुस्कान ल्याउने काम गरिरहेको छ र यस कार्यक्रममा उपस्थित सबै पाहुनालाई सेल्फी विथ डटर टिमका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए।

सेल्फी विथ डटर अभियान र फाउन्डेसनका संस्थापक सुनील जगलानका अनुसार यो अभियान हरियाणाबाट सुरु गरिएको हो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको ’मन की बात’ कार्यक्रमलगायत धेरै कार्यक्रममा प्रशंसा गरेका छन् ।

यस अभियानलाई नेपालका जनताले धेरै मन पराएको र यो अभियानले महिला सशक्तीकरणका लागि नयाँ आयाम स्थापित गर्ने विश्वास रहेको ‘सेल्फी विथ डटरका संस्थापक जगलानले बताए।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्