चौधरी फाउन्डेसनद्वारा वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड हस्तान्तरण

काठमाडौँ – चौधरी फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरी बिहीबार अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ। कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्‍याउन फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड निर्माण गरेको हो।

चौधरी फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमबीच कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्राडा जागेश्वर गौतमलाई आईसीयू वार्ड हस्तान्तरण गरे।

वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा नौ शय्या र दोस्रो तलामा नौ शय्या गरी १८ शय्याको आईसीयू वार्ड निर्माण भएको छ।

विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर आईसीयू वार्ड निर्माण गरिएको छ। अस्पतालले यी तलामा कोभिड संक्रमित बिरामीको उपचार सुरु गरेको छ।

 

 

चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरी सम्पूर्ण नेपालीको सेवामा समर्पित गरिएको बताएका छन्।

‘कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवन रक्षा गर्नु अहिले हाम्रो सबैभन्दा महत्वपूर्ण दायित्व हो। यसका लागि सम्पूर्ण नेपाली नागरिकको पहुँच रहेको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने जिम्मेवारी हामीले बोध ग¥यौँ। र, आईसीयू वार्ड स्थापना गर्न वीर अस्पताललाई छान्नुको उद्देश्य पनि यही हो’, अध्यक्ष चौधरीले भने, ‘कोरोना महामारीसँग हामी जुधिरहेको बेला प्रत्येक नेपाली नागरिकको जीवन उत्तिकै महत्वपूर्ण छ भन्ने कुरालाई हामीले बिर्सिनु हँुदैन। त्यसका लागि वीर अस्पतालजस्ता सार्वजनिक अस्पतालको सेवा र पहुँच विस्तार गरिनु आवश्यक हुन्छ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपति प्राडा देवनारायण शाहले कोभिड महामारीको संवेदनशील समयमा वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड निर्माणमा योगदान गरेर चौधरी फाउन्डेसनले समाजसेवामा उत्कृष्ट भूमिका निर्वाह गरेको बताए।

कोरोनाका कारण क्रिटिकल अवस्थामा पुगेका सर्वसाधारण नेपालीको जीवन रक्षामा यो आईसीयू वार्ड वरदान सावित हुने विश्वास पनि उनले व्यक्त गरे।

‘पैसा हातमा भएर मात्रै पनि यति छिटो समयमा आईसीयू निर्माण गर्न सम्भव थिएन। तर, चौधरी फाउन्डेसनको सक्षम व्यवस्थापनका कारण मात्रै यो सम्भव भएको हो’, प्राडा शाहले भने।

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्राडा जागेश्वर गौतमले कोरोना महामारीसँग जुध्न चौधरी फाउन्डेसनले पु¥याएको योगदानका लागि धन्यवाद दिँदै यसले आम नेपालीको उपचारमा ठूलो सहयोग पुग्ने बताए।

चौधरी फाउन्डेसनले गत वर्ष कोरोनाको पहिलो लहरमा भेन्टिलेटर, पीसीआर रिएजेन्टदेखि पीपीई र स्वास्थ्य सामग्री देशभरका अस्पतालमा उपलब्ध गराएको थियो।

कार्यक्रममा वीर अस्पताल र चौधरी फाउन्डेसनका उच्चपदस्थ अधिकारीहरू सहभागी थिए।
चौधरी फाउन्डेसनले आईसीयू वार्ड स्थापना गर्न केन्द्रीय कोभिड अस्पतालसँग सहमति पत्रमा हस्ताक्षर गरेको करिब तीन सातामा आईसीयू वार्ड निर्माण गरी हस्तान्तरण गरिएको हो।

यस अस्पतालमा अक्सिजन प्लान्टको पनि निर्माण भइरहेको छ। चौधरी फाउन्डेसनको समन्वय र नबिल बैंकको वित्तीय सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो।

आगामी केही दिनभित्रै उक्त अक्सिजन प्लान्ट पनि हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्