हुम्लामा कोरोना संक्रमितको संख्या दुई सय नाघ्यो

सिमकोट – पछिल्लो पटक जिल्लामा ३८ जनामा कोरोना संक्रमित थपिँदा कुल संक्रमित संख्या दुई सय नाघेको छ। चंखेली र जिल्ला अस्पतालमाा परीक्षण गर्दा संक्रमितको संख्या बढेको हो।

जिल्लामा एक हजार ३ सय ६८ जनालाई कोरोना परीक्षण गर्दा २०६ जनाको पोजिटिभ आएको अस्पतालका फोकल पर्सन भक्ति फडेराले जानकारी दिए।

त्यसमध्ये एक जनामो मृत्यु भएको छ भने एक जनालाई श्वासप्रश्वासमा समस्या आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो।

उनी पनि निको भएर घर फिर्ता भइसकेका छन्। पछिल्लो परीक्षण रिपोर्टअनुसार सातमध्ये ६ वटा गाउँपालिकामा फैलिएको कोरोना संक्रमण चार वटा गाउँपालिकामा परीक्षण गर्दा केही दिनयता ३८ जना थपिएका छन्।

कुल संक्रमितमध्ये सिमकोट गाउँपालिका र अस्पतालमा गरिएको छुट्टै परीक्षणमा संक्रमितको संख्या ४२ जना पुगेको छ भने खार्पुनाथमा १७ जना, सर्केगार्ड गाउँपालिकामा ४१ जना, चंखेली गाउँपालिकामा ५० जना, अदानचुली गाउँपालिकामा २० जना र ताँजाकोट गाउँपालिकामा ३५ जनामा पुष्टि भएको छ।

अब जिल्लाका ६ वटा गाउँपालिकाका होम आइसोलेसन र सदरमुकाम सिमकोटस्थित रानीवनको आइसोलेसन वार्डमा गरी ६३ जना रहँदै आएका छन्।
उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

१४२ जना हालसम्म कोरोना जितेर घर फर्किसकेका छन्। कोरोनाको दोस्रो स्वरूप नेपालगञ्ज र सुर्खेतबाट आएका आठ जना यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा पहिलो पटक वैशाख १९ गते पुष्टि भएको थियो।

त्यसयता दैनिक स्वास्थ्य सेवा कार्यालय र गाउँपालिकाले कोरोना परीक्षण गर्दा बिरामी संख्या बढी रहेको जनाएको छ।
जिल्लाको दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना फैलने दर तीव्र रूपमा वृद्धि भएको छ।

अब उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका मात्र कोरोना संक्रमणबाट अछुतो छ। उक्त गाउँपालिकामा पाँच पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्