हस्ताक्षर फिर्ता नलिने माधव नेपालको विपक्षी गठबन्धनसँग बाचा, ओलीविरुद्ध अझै सशक्त बन्ने गठबन्धनको निर्णय

काठमाडौँ–एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेपालले संसद विघटनविरुद्ध र वैकल्पिक सरकारका पक्षमा सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदनको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्धको गठबन्धन पक्षसक्षम पुनः प्रतिवद्धता जनाएका छन्।

ओलीले पार्टी एकताका लागि उक्त हस्ताक्षर फिर्ताको शर्त नेपालसँग राखेका बेला नेपालले ओलीविरुद्धको विपक्षी गठबन्धनसमक्ष आफ्नो पक्षले हस्ताक्षर फिर्ता नलिने प्रतिवद्धता दोहोर्‍याएका हुन्।

बिहीबार विपक्षी नेपाली काँग्रेससभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको देउवासहित, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठकमा नेपालले आफूले संविधान र लोकतन्त्रको रक्षाका निम्ति गरेको सहकार्य नटुटाउनेमा उनीहरुलाई आश्वस्तसमेत पारेका थिए।

‘हामी संविधान र लोकतन्त्रका पक्षमा एक भएका हौँ। पार्टी अध्यक्षले जतिसुकै दबाब दिएपनि हामी सर्वोच्च अदालतको हस्ताक्षर फिर्ता लिन्नौँ। हामी यसबाट पछाडि हट्ने कुरा आउँदैन। यसमा तपाईँहरु पनि ढुक्क हुनू’, नेपालले भने। नेपालले यसअघि आफ्नो पक्षको हस्ताक्षर फिर्ता लिने गरी ओलीले अघि सारेको पार्टी एकताको शर्त अस्वीकार गर्ने निर्णय सार्वजनिकरुमा सुनाएका थिए।

बैठकले विपक्षी गठबन्धन संविधान तथा लोकन्त्रको रक्षा र विदेशी हस्तक्षपबाट मुुलुकलाई बचाउनका लागि हालको पाँच पार्टीको मोर्चा र सहकार्यलाई अझै सुदृढ बनाएर जाने निष्कर्ष निकालेको छ।

आफूहरुको सहयर्कालाई कमजोर पार्ने खाल विभिन्न प्रकारका षड्यन्त्र भइरहेका र त्यसप्रति सचेत हुँदै अघि बढ्ने निष्कर्ष पनि बैठकले निकालेको छ।

सर्वोच्च अदालतलले संविधानसम्मत ढंगले नै संसद पुनर्स्थापना र वैकल्पिक सरकारको निर्माण गर्ने गरी फैसला गर्ने कुरामा आशावादी भएको र सर्वोच्च कुनै पनि प्रकारको दबाब, धम्की र सेटिङका आधारमा आफू प्रभावित हुने छैन भन्नेमा आशावादी यो बैठकको निचोड छ। कोभिडको प्रतिकूल समयमा पनि मुलुकको अहिलेको संकटपूर्ण राजनीतिक परिस्थिति र असंवैधाकि एवं प्रतिगामी कदमका विरुद्ध जनताका बीचमा उपयुक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठक पुगेको छ।

केन्द्रीय स्तरमा अतिरिक्त प्रदेश र जिल्लामा आफ्नो मोर्चालाई बलियो बनाउने, दुई नम्बरको प्रदेश सरकार निर्माण प्रक्रियालाई समर्थन गर्ने र सबै ठाउँमा सम्भव भएसम्म यसैगरी गठबन्धनका आधारमा अघि बढ्ने बैठकको निष्कर्ष छ।

बैठकमा देउवाले ओलीविरुद्धको आन्दोलनबाट आफू पछि नहट्ने र उनको सबै तिकड्मलाई परास्त गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए।

त्यही लयमा प्रचण्डले पनि ओलीविरुद्धको अभियान सशक्त बनाउनुपर्ने आफ्नो धारणा राखेका थिए। उनले आफूहरुबीच भ्रम सिर्जना गर्ने, दरार उत्पन्न गर्ने विभिन्न दाउपेज भइरहेका र त्यसप्रति सचेत रहन र त्यसलाई असफल पार्ने आजको आवश्यकता भएको बताएका थिए।

जसपाका नेता उपेन्द्र यादवको दुई नम्बर प्रदेश सरकार गिराउने ठूलो प्रयास भएपनि त्यसमा असफल भएको, र अरु प्रदेशमा पनि त्यसैगरी षड्यन्त्रकारीहरुलाई परास्त पार्नुपर्नेमा जोड दिएका थिए।

राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेलले संविधान र लोकतन्त्रका लागि आफूहरुको मोर्चा टुट्न नहुनेमा जोड दिएकी थिइन्।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्