किन बढ्दै छ नेपालमा कम्युनिष्टहरुप्रति विकर्षण?

नेपालमा युवा अवस्थामा एकपटक कम्युनिस्ट नबन्ने व्यक्ति बिरलै होलान्।

कुनै समय नेपालको सुदूरपूर्वमा अत्यधिक चहलपहल रहेका वामपन्थी बहुदलीय व्यवस्था आएपछि सुदूरपश्चिममा पनि बढ्न सुुरु भएको थियो।

०४६ सालमा आएको बहुदलीय व्यवस्थापछि भएको पहिलो निर्वाचनमा सुदूरपश्चिममा नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रायः सबै सिट जितेकामा त्यसपछिका दिनमा वामपन्थीको बाहुल्य बढ्दै गएको थियो।

पहिलोचोटि महेन्द्रनगरमा ०४६ सालको सुुरुको अवस्थामा एक जना वामपन्थी प्रचारक पक्राउ परेका थिए।

उनी चितवनको गीतानगर निवासी थिए। त्यो समयमा यो पंक्तिकार त्यहीँ कार्यरत थियो। विद्यार्थीकालमा अखिल र नेविसंघको निर्वाचनमा विद्यार्थी दुई खेमामा बाँडिएर आफ्नो गोप्य मत हाल्थे।

त्यतिखेर आफ्नो घरमा बसेका दुई जना वामपन्थी विचारकबाट म आफू पनि प्रभावित भएको थिएँ।

उनीहरू भियतनाममा अमेरिकाले गरेका बम वर्षाले हजारौँ निर्दोष जनता मारिएका कुुरा गर्थे भने चीनमा माओ त्सेतुङले लङ मार्च गरी अत्यधिक जनतालाई गोलबन्द बनाएर शोषक र सामन्तीको विरोधमा कम्युनिस्ट शासन स्थापना गरेको विषयमा कुरा हुन्थ्यो।

ती आफन्तमध्ये एक जना त्रिचन्द्र कलेजमा हामीभन्दा सिनियर तहमा पढ्ने र वामपन्थीको नेतृत्वमा थिए।

निर्वाचनमा उनलाई भोट हाल्न बाध्यता हुन्थ्यो। आफ्नो घरमा कुुनै पार्टी, जुलुस तथा हडतालमा नलाग्ने बुुवाको निर्देशन भएको हुँदा आफू खुुलेर नलागे पनि आफ्ना मिल्ने साथीहरूलाई भनसुन गरी उनै दाइलाई मत हाल्न लगाइन्थ्यो। त्यतिखेर कुरा बुझेर या नबुझेर पनि वामपन्थीलाई राष्ट्रवादी र गरिबको उद्धार गर्ने पार्टीको रूपमा लिइन्थ्यो।

अर्कोतर्फ कांग्रेस भनेको राष्ट्रघाती र शोषक सामन्तीको पार्टी भन्ने बुझिन्थ्यो।

पहिलोचोटि झापा आन्दोलनको नाममा केही मध्यमवर्गीय सर्वसाधारण व्यक्ति उग्र वामपन्थीबाट मारिएपछि कम्युनिस्टप्रति केही वितृष्णा पैदा भयो।

पछि मालेबाट एमाले हुुंदै पहिलोचोटि वामपन्थीको अल्पमतको पहिलो सरकार बनेपछि उक्त सरकारले वृद्ध भत्ता र आफ्नो गाउँ आफैँ बनाऊँ भन्ने लोकप्रिय कार्यले फेरि वामपन्थीप्रति जनताको समर्थन बढ्न गयो। कांग्रेसको पहिलो सरकारबाट नेपालका राम्रा उद्योग लिलाम गरी सिध्याए र धेरै नेपालीलाई बेरोजगार बनाउंँदै भ्रष्टाचार काण्ड बढ्न थालेपछि कांग्रेस झन् बदनाम हुँदै गएको थियो। त्यतिखेर वामपन्थी सरकारप्रति धेरैले आस गरेका थिए।

जब राष्ट्रघाती महाकाली सन्धि गर्न कांग्रेससँग एमाले मिलेर पास गराए त्यसपछि कम्युनिस्ट पनि भारतको पिछलग्गु हुँदै गएको थाहा भयो।

एमालेले अरुण–३ विश्व बैंकको सहयोगमा नेपाललाई आफैँ निर्माण गर्न नदिएर पछि कांग्रेससहित मिलेर भारतलाई जिम्मा लगाए। त्यसपछि वामपन्थी पनि भारतपरस्त भएको यकिन हुँदै गएको थियो।

यही अवसरमा केही वामपन्थी नेताका ठूला महल बन्न थाले।

यसपछि कांग्रेस र कम्युनिस्ट राष्ट्रघात र भ्रष्टाचार गर्न कोहीभन्दा कोही कम छैनन् भन्ने देखिँदै गयो। कुुशासन, भ्रष्टाचारविरुद्ध तथा राष्ट्रियताको पक्षमा विद्रोह सुुरु गरेको अर्को कम्युनिस्ट पार्टी माओवादीले हजारौँ मानिस मारेर आएपछि ऊबाट राष्ट्रघात र भ्रष्टाचार काण्ड थपिन थाले। माओवादी नेतृत्व दिल्लीमा बसेर इमान्दार कार्यकर्तालाई देशभित्र लडाएर नेपालीबीच युद्ध गराए।

यसले नेपाली जनताको कम्युनिस्टप्रतिको वितृष्णा झन् बढ्दै गयो। माओवादी नेताको अस्थीर र अवसरवादी सोचले राजनीतिलाई झन् अस्थीर र अराजक बनाउन थाल्यो।

यसै क्रममा स्थायित्व र विकासका लागि एमाले र माओवादी मिलेर बनेको नेकपाको सरकारले पाएको अत्यधिक बहुमत ३ वर्ष पनि टिक्न सकेन।

यसमा आन्तरिक नेतृत्व हत्याउने प्रयास र विदेशीको प्रभाव र दबाब पनि देखिन्छ।

यसरी मिलेर सरकार चलाउन पनि नसक्ने र सुशासन दिन नसक्ने भनेर कम्युनिस्टले आफ्नो चरित्र उदांगो पारेका छन्।

राष्ट्रहितमा भन्दा बिदेशीको हितमा धेरै कार्य भइरहेकाले वामपन्थी सरकार लगातार रहिरहे नेपालको राष्ट्रियता खतरामा पर्न सक्ने कुरा नागरिकताजस्तो संवेदनशील विधेयक अध्यादेशबाट पास गरेबाट पनि थाहा हुन्छ।

अहिलेको पछिल्लो अवस्थाले एमालेभित्रको आन्तरिक द्वन्द्व बढ्दै गएपछि पार्टी विखण्डन हुुने निश्चित देखिन्छ।

यो सायद पार्टीको आन्तरिक लडाइँ र विदेशीको चाहनाले पनि कम्युनिस्ट पार्टीलाई फुटाएर सिध्याउने खेल हुुन सक्छ।

आफ्नै पार्टीको नेतृत्वविरुद्ध विरोधी दलसँग मिलेर आफ्नो सरकार हटाउन एमालेका पूर्व महासचिव तथा पूर्व प्रधानमन्त्री भइसकेका नेता स्वयं संलग्न भएका छन्।

यस्ता दलघाती गलत कार्य संसारका कुनै पनि देशमा देख्न पाइँदैन। कुुनै समय संसारबाट कम्युुनिस्ट सकिन लाग्दा नेपालमा भने मदन भण्डारीको सशक्त भाषण र नेतृत्वले पार्टीको राष्ट्रियताको पक्षमा आफ्ना साख जोगाउँदै युवालाई गोलबन्द पार्न सफल भएका थिए।

मदन भण्डारीको शंकास्पद अवसानपछिका दिनमा खुला रुपमा राष्ट्रविरोधी कार्य हुुन थाले।

फलस्वरुप युवाहरू कम्युनिस्टप्रति आकर्षित हुुनुभन्दा विकर्षण हुन लागेका छन्।

प्रजातान्त्रिक राजा वीरेन्द्रको पूरा वंश नाश भएपछि देशको शासन सम्हाल्न पुगेका राजा ज्ञानेन्द्रको केही कमजोरी तथा दलहरूको असहयोगका साथै अवसरको खोजीमा रहेका विदेशीको सल्लाहमा अचानक राजसंस्था हटाइयो।

राजा हटाएर देशमा अग्रगामी छलाङ लगाइयो अब विकासले फड्को मार्नेछ भनी दलहरूबाट भ्रम फैलाइयो। एउटा राजा हटाएर सयौँ राजा बनाइए जसलाई जनता र राष्ट्रको माया छैन। सिर्फ धन–सम्पत्ति जम्मा गर्ने यी नवशासकहरूबाट जनता झन् पीडित भइरहेका छन्।

सबैतिर दलका नेताको हस्तक्षेप हुँदै अदालतसमेत राजनीतिकरणको सिकार भएको छ। अब जनताका आशा एवं विश्वासमा तुषारापात लागिसकेको छ।

भ्रष्टाचारले चरम सीमा पार गरेको छ। कम्युनिस्ट शासनमा नीतिगत भ्रष्टाचारको नाममा मन्त्रिपरिषद्ले गरेका निर्णयमाथि छानबिन र कारबाही गर्न अख्तियारले सक्दैन। देशका ठूला जलविद्युत् आयोजना प्रायः सबै भारतीयका हातमा गइसकेका छन्।

खुला सिमानाका कारण चोरी तस्करी, अपराधी बढेका मात्र होइन, अहिलेको महामारीको प्रमुख कारण कोरोनाका बिरामी पनि खुला रूपमा ओहोरदोहोर गरिरहेका छन्।

यसबाट जनधनको ठूलो नोक्सानी भइरहेको छ। यसलाई रोकथाम गर्न ठोस रूपमा कारबाही हुुन सकेको छैन।

हामीले विकसित देशबाट केही पनि सिकेनौँ जहाँ शिक्षा र स्वास्थ्यको सम्पूर्ण जिम्मा सरकारको हुन्छ। जनताले जतिसुकै कर तिरे पनि उनीहरूलाई कुनै संकोच छैन।

किनकि उनीहरूका छोराछोरीको स्तरीय शिक्षा र स्वास्थ्यको जिम्मा सरकारको हुन्छ।

हाम्रा देशका कम्युनिस्ट नैतिकहीन भएर भ्रष्टाचारमा लिप्त हुँदै देशको वैदिक परम्परालाई नाश गर्दै विदेशी धर्मलाई आयातित गर्दै छन्।

यता, हाम्रो देशमा गरिबको मसिहा भन्ने कम्युनिस्ट सरकार बहालमा रहँदा पनि सर्वसाधारण जनताले स्तरीय शिक्षा र स्वास्थ्य निःशुल्क पाउन सकेनन्।

नेताका समेत लगानीमा खुलेका मेडिकल कलेज, नर्सिङ होमहरू अत्यन्त खर्चिला छन्। सरकारी शिक्षण संस्था पनि अत्यन्त गिर्दो अवस्थामा छन्।

निजी शिक्षण संस्था सर्वसाधारणको पहुुँचभन्दा बाहिर छन्। गरिबको नाममा स्थापना भएका यी कम्युनिस्ट पार्टी तथा शासक केही गुट र चाकडीवाजलाई साथमा लिएर जनताको खुन–पसिनाको कमाइमा रमाइरहेका छन्।

आज चीनजस्तो कम्युुनिस्ट देश स्थिर, सुशासन तथा दृढ संकल्प लिएर संसारको उदाउँदो प्रमुख शक्ति बन्दै छ। जहाँ कडा किसिमको आर्थिक अनुशासन छ। जसले आफ्ना परम्परालाई जोगाउँदै मठमन्दिरको जीर्णोद्धार गरिरहेको छ। हाम्रा देशका कम्युनिस्ट नैतिकहीन भएर भ्रष्टाचारमा लिप्त हुँदै देशको वैदिक परम्परालाई नाश गर्दै विदेशी धर्मलाई आयातित गर्दै छन्।

जबसम्म मानिस आफ्नो धर्म–संस्कृतिलाई जोगाउँदै एकताबद्ध हुन सक्तैनन् तबसम्म सबै जनतालाई एकताको सूत्रमा बाँध्न सकिँदैन।

आजभोलि एक–दुई जना पुराना कम्युनिस्ट वैदिक तथा आध्यात्मिक ज्ञानको महत्व बुझेर त्यसको अध्ययनतर्फ अगाडि लागेको बुझिन्छ।

यो राम्रो संकेत हो। तर, यो पर्याप्त हुँदैन। जबसम्म सत्तामा बस्नेले विदेशीको दलाली गर्न छाडेर राष्ट्रको माटोको महत्वलाई शिरमा राख्दै आध्यात्मिक सोचसाथ अघि बढ्दैनन्, तबसम्म देश र जनताको उद्धार हुन सक्दैन।

सरकारमा बस्नेहरू आध्यात्मिक भावना लिएर आफ्नो वैदिक धर्म–संस्कृतिको महत्वलाई बुझी लोक कल्याणकारी कार्यतर्फ लाग्नै पर्छ।

अन्यथा जनताले अब यी पुुराना दललाई छोडी अहिले देशमा देखिन थालेका नयाँ जोशिला युवा जो देशप्रति माया राखेर देशलाई सही मार्गमा चलाउने हिम्मतसाथ नयाँ दल खोली अगाडि बढ्दै छन्, उनीहरूको पछि लाग्नेछन्।

त्यसैले यी पुराना खुंखार पाखण्डी नेता, राष्ट्रघातीहरूलाई त्यागेर राष्ट्रहितमा लागेका इमान्दार व्यक्ति र दलको पछि लाग्नु नै श्रेयष्कर हुनेछ।

जेठ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्