सनातन यात्रा

वैदिक धर्ममा पति र पत्नीको सम्बन्ध

विषयप्रवेश
अचेल विवाहलाई वा पति र पत्नीको परस्पर सम्बन्धलाई केवल पुरुष र स्त्रीका भौतिक आवश्यकता पूर्ति गर्ने माध्यमका रूपमा मात्र हेर्ने दृष्टिकोण प्रचारित हुँदै गएको देखिन्छ । यस परिप्रेक्ष्यमा वैदिक धर्ममा बताइएको पति र पत्नीको सम्बन्धको स्वरूप, विशेषता र महत्त्वलाई दर्साउन यो लेख यहाँ प्रस्तुत गरिँदै छ ।

पतिपत्नी–सम्बन्धको वैदिक अवधारणा
स्त्री र पुरुषको धर्मानुकूल यौनसम्बन्धका निम्ति, सन्तानोत्पादनका निम्ति तथा गृहस्थाश्रमको धर्मपूर्वक निर्वाहका निम्ति विवाहसंस्कार गरिने कुरा वेद, वेदाङ्ग, स्मृति र पुराणहरूको अनुशीलनबाट बुझिन्छ । विवाहबाट पति र पत्नीको सम्बन्धको प्रारम्भ हुन्छ । ऋग्वेद, यजुर्वेद र अथर्ववेदमा विवाहसम्बन्धी उल्लेखहरू प्रशस्त पाइन्छन् । गृह्यसूत्रहरूमा विवाहको पद्धति विस्तृत रूपले देखाइएको छ ।

वैदिक धर्मशास्त्रअनुसार पति र पत्नीले एकजीउ भएर धर्मकर्म गर्ने र भौतिक सुखसुविधाको उपभोग गर्ने हुँदा धर्ममा र धनमा स्त्रीको अधिकार पतिसित अविभाज्य रूपमा गाँसिएको हुन्छ । पतिद्वारा भरणीया (भरणपोषण गर्नुपर्ने) हुनाले भार्या, पति नै पुनः पुत्रका रूपमा पत्नीबाट जन्मने हुनाले जाया, पतिसँग मिलेर धर्मकर्म गर्ने हुनाले सहधर्मिणी, घरकी (गृहकी) मालिक्नी हुनाले गृहिणी इत्यादि विभिन्न पत्नीवाचक शब्दहरू संस्कृत भाषामा प्रयुक्त भएका छन्।

पत्नी तथा पतिपत्नी–सम्बन्ध
पत्नीशब्द पतिशब्दकै स्त्रीलिङ्गी रूप हो । त्यसैले गृहपति भन्दा घरका मालिक भन्ने बुझिएजस्तै गृहपत्नी भन्दा पनि घरकी मालिक्नी भन्ने बुझिन्छ । स्त्रीका विभिन्न रूपमध्ये पत्नीरूपको वैदिक वाङ्मयमा व्यापक रूपले चर्चा गरिएको छ ।

वैदिक परम्परामा धर्मविवाहद्वारा संयुक्त भएका पति र पत्नी सर्वथा फरकफरक व्यक्ति मानिँदैनन्, अपि तु प्रजापतिद्वारा सञ्चालित प्रजननयज्ञलाई प्रवर्तन गर्ने एकअर्काका पूरक अङ्ग वा तत्त्व मानिन्छन् । गृहस्थधर्मको पालन गर्न पतिपत्नीको साहचर्य (सँगसँगै मिलेर सम्पूर्ण कार्य गर्ने प्रवृत्ति) आवश्यक मानिन्छ । तसर्थ पति र पत्नी दुवै जनाको आचार, विचार, संस्कार, प्रवृत्ति इत्यादि सबै कुरा एकै प्रकारको हुन आवश्यक हुन्छ । वैदिक विवाहमा प्रयोग हुने मन्त्रहरूमा यस्तै आकाङ्क्षा र भाव व्यक्त गरिएको पाइन्छ । यस्तो भएमा नै दाम्पत्यजीवन सुखमय हुनुका साथै सन्ततिहरू पनि असल हुन सक्छन् । गृहस्थधर्मको परम्परा चलाउनका निम्ति धर्म्य (धर्मको अनुकूल) सन्तति जन्माउन पर्ने शास्त्रीय निर्देश छ । त्यसका लागि पति र पत्नीको साहचर्य (साथ) अत्यावश्यक भएकाले पत्नीविनाका पुरुषलाई अपूर्ण मान्ने वैदिक सिद्धान्त छ—

अर्धो ह वा एष आत्मनो यज्जाया तस्माद् यावज्जायां न विन्दते नैव तावत् प्रजायतेऽसर्वो हि तावद् भवत्यथ यदैव जायां विन्दतेऽथ प्रजायते तर्हि हि सर्वो भवति ।

—शुक्लयजुर्वेद–शतपथब्राह्मण ५।२।१।१० ।

अर्थात्— पत्नी भनेको आफनो आधा भाग हो, त्यसैले जबसम्म पुरुषले पत्नी प्राप्त गर्दैन तबसम्म प्रजनन गर्न सक्दैन र ऊ अपूर्ण नै रहन्छ । जब पत्नी प्राप्त गर्दछ तब प्रजनन गर्न सक्छ र ऊ पूर्ण पनि हुन्छ ।

अझ मनुस्मृतिका एक ठाउँमा त पति र पत्नीमा अन्तर नै छैन, दुवै एकै व्यक्ति हुन् सम्म पनि भनिएको छ—

एतावानेव पुरुषो यज्जायाऽऽत्मा प्रजेति ह ।
विप्राः प्राहुस्तथा चैतद् यो भर्ता सा स्मृताऽङ्गना ।।— ९।४५ ।

पत्नी, आफू (आफ्नो शरीर) र सन्तान यी तीनै मिलेर सिङ्गो पुरुष बन्दछ भनेर वेदका ज्ञाता विद्वान‌्‌हरु भन्दछन् । अर्थात् जो भर्ता (पति) हो, त्यही नै भार्या (पत्नी) हो (यी दुईमा केही पनि भेद छैन)।

वैदिक परम्परामा स्त्रीलाई पुरुष र पुरुषलाई स्त्री पनि धर्म, अर्थ र काम यी तीन पुरुषार्थ सिद्ध गर्नका निम्ति आवश्यक मानिन्छन् । मोक्ष प्राप्त गर्न यी दुईको परस्पर साहचर्य आवश्यक हुँदैन तापनि स्त्रीपुरुषका सम्बन्धबाट चल्ने आदर्श गृहस्थधर्मबाट पनि मोक्ष प्राप्त हुन भने सक्ने नै देखिन्छ (वैदिक धर्म मूल रूपमा, शिवराज आचार्य कौण्डिन्न्यायन, द्वि.सं.२०६२, पृ.३६६) ।

पत्नी नभएको पुरुष यज्ञ गर्न वा गृहस्थका अरू धर्मकर्म गर्न पनि मुख्य रूपमा अयोग्य मानिन्छ— अयज्ञो वा एषः, योऽपत्नीकः, न प्रजाः प्रजायेरन्  (तैत्तिरीयब्राह्मण २।२।२।६, ३।३।३।१)।

सन्तानका निम्ति, धर्मकार्यका निम्ति, परस्पर सहयोगका निम्ति, उत्तम तथा आपदरहित रतिका निम्ति र आफ्नो तथा पितृको स्वर्गप्राप्तिका निम्ति पनि पतिपत्नीको साहचर्य आवश्यक हुन्छ—

अपत्यं धर्मकार्याणि शुश्रूषा रतिरुत्तमा ।
दाराधीनस्तथा स्वर्गः पितृृणामात्मनश् च ह ।। —मनुस्मृति ९।२८।

पति र पत्नीका सम्बन्धमा आठौँ शताब्दीतिरका संस्कृतका प्रसिद्ध नाटककार महाकवि भवभूतिद्वारा मालतीमाधव–नामक संस्कृतनाटकमा कामन्दकीका मुखबाट व्यक्त गराइएको अत्यन्त हृदयस्पर्शी अभिव्यक्तिले वैदिक धर्मशास्त्रमा प्रतिपादित पतिपत्नीसम्बन्धको आदर्श दृष्टिकोणलाई राम्ररी प्रस्तुत गरेको देखिन्छ—

प्रेयो मित्रं बन्धुता वा समग्रा
सर्वे कामाः शेवधिर्जीवितं वा ।
स्त्रीणां भर्ता धर्मदाराश्च पुंसा–
मित्यन्योन्यं वत्सयोज्र्ञातमस्तु ।।—६।१८।

अर्थात्— स्त्रीका निम्ति पति र पुरुषका निम्ति धर्मपत्नी प्रियतम मित्र, बन्धुहरूको पुञ्ज, अभिलाषा गरिएका सम्पूर्ण वस्तुहरूको राशि, सम्पूर्ण सम्पत्तिको निधि र जीवनको आधार पनि हो भन्ने कुरा नानीबाबु तिमीहरू दुईलाई परस्परमा ज्ञात होस् ।

उपर्युक्त वैदिकधर्मको अनुकूल पद्यले पति र पत्नीको परस्पर सम्बन्धमा जुन दृष्टिकोण प्रस्तुत गरेको छ, त्यसबाट वैदिक धर्मशास्त्रले पुरुषलाई वा पतिलाई स्त्रीप्रति वा पत्नीप्रति अन्यायपूर्ण थिचोमिचो गर्न छुट दिएको छ भन्ने कतिपय आधुनिक व्यक्तिले वैदिक धर्मशास्त्रप्रति लगाउने गरेको आरोप मिथ्या (झूटो वा भ्रमपूर्ण) भएको कुरा प्रमाणित हुन्छ।

पत्नीवाचक जायाशब्दको व्युत्पत्ति र अर्थ
पत्नीमा गर्भका रूपमा प्रवेश गरेर पुत्रका रूपमा पतिको पुनर्जन्म हुन्छ भन्ने वैदिक सिद्धान्तले कुनै अवस्थामा त पतिले धर्मपत्नीलाई मातालाई झैँ पनि हेर्ने कुरा स्पष्ट पारेको छ । पत्नीको पर्यायवाची शब्द जायाको व्युत्पत्ति देखाउँदै ऐतरेयब्राह्मणमा वेदमा) यस्तो भनिएको छ—

पतिर्जायां प्रविशति गर्भो भूत्वा स मातरम् ।
तस्यां पुनर्नवो भूत्वा दशमे मासि जायते ।
तज्जाया जाया भवति यदस्यां जायते पुनः ।।— (३३।१)

गर्भको रूप लिएर पति माताको रूप लिएकी पत्नीमा प्रवेश गर्छ । फेरि त्यहाँ नयाँ स्वरूप ग्रहण गरेर दशौँ महिनामा जन्मन्छ । पति नै फेरि पत्नीबाट जन्मने हुनाले पत्नीलाई जाया भनिएको हो ।

बुढा, बालक, रोगी, भारी बोकेका, स्त्री, यानमा चढेका व्यक्तिहरू सँगै भेटिँदा अघिल्ला–अघिल्लाले पछिल्ला–पछिल्लालाई बाटो छाडिदिनुपर्छ, राजा र वेद पढेका स्नातकसँगै भेटिँदा राजाले स्नातकलाई बाटो छाडिदिनुपर्छ, विवाहकी वधूलाई त राजा र स्नातकले समेत बाटो छाड्न पर्छ ।

मनुस्मृतिमा र महाभारतमा पनि यस्तै वर्णन पाइन्छ । पुत्रवती धर्मपत्नीलाई पतिले मातालाई झैँ आदरपूर्ण दृष्टिले हेर्न आवश्यक छ भन्ने कुरासमेत महाभारतमा आएको छ—

आत्माऽऽत्मनैव जनितः पुत्र इत्युच्यते बुधैः ।
तस्माद् भार्यां पतिः पश्येन् मातृवत् पुत्रमातरम् ।।—आदिपर्व ७४।४८।

अर्थात्— आफैँले जन्माएको आफू विद्वान्‌हरुबाट पुत्र भनिन्छ । त्यसैले पुत्रकी माता भएकी (पुत्रवती) धर्मपत्नीलाई पतिले आफ्नै मातालाई झैँ हेरोस् ।

गृहिणीको अर्थ र महत्त्व
विवाह भएका पत्नीसहितका व्यक्तिलाई पत्नीकै आधारमा गृहस्थ गृहमा (अर्थात् पत्नीमा रहने) भनिएको हो । वेदमा पनि पत्नी नै घर हो भनिएको छ—जायेदस्तम् (जाया=पत्नी, इत्=एव, अस्तम्=गृहम्) । —ऋग्वेदसंहिता ३।५३।४।

तसर्थ वैदिक धर्मशास्त्रमा ढुङ्गामाटाका घरलाई घर नमानेर पत्नीलाई नै घर मान्ने कुरा गरिएको छ । त्यसैले नेपाली समाजमा पनि विवाह गर्नुलाई घरजम गर्नु भन्ने गरिएको हो । यस सम्बन्धमा महाभारतका तल लेखिएका वचनहरू विशेष मननीय छन्—

न गृहं गृहमित्याहुर्गृहिणी गृहमुच्यते ।
गृहं तु गृहिणीहीनमरण्यसदृशं मतम् ।। —शान्तिपर्व १४४।६ ।

वास्तवमा गृहलाई अर्थात् घरलाई गृह भनिँदैन, गृहिणीलाई अर्थात् पत्नीलाई गृह भनिन्छ, गृहिणी नभएको गृह त वनजस्तै हो ।

वृक्षमूलेऽपि दयिता यस्य तिष्ठति तद् गृहम् ।
प्रासादोऽपि तया हीनः कान्तार इति निश्चितम् ।।—१४४।१२ ।

रूखमुनि पनि जसकी दयिता अर्थात् पत्नी रहन्छे, त्यो घर हो । दयिता नभएको विशाल भवन अर्थात् दर्बार पनि वन हो भन्ने कुरा निश्चित छ ।

पत्नी सम्पूर्ण गृहसामग्रीकी मालिक्नी हुने कुरा वेदले नै बताएको छ— पत्नी हि (वै) पारीणह्यस्येशे ।—तैत्तिरीयसंहिता ६।२।१।१, मैत्रायणीयसंहिता ३।७।९। यस व्यवस्थाले पनि उक्त कुरालाई नै पुष्टि गर्दछ । पत्नी नभएका पुरुषलाई अथवा पत्नी भएकै भए पनि पत्नी साथमा नलिएका पुरुषलाई गृहस्थका धर्मकर्म यज्ञयागादि गर्ने र तीर्थव्रत गर्ने अधिकार सामान्यतया हुँदैन । त्यसै गरी पत्नीले पनि पतिका साथमा रहेर नै धर्मकर्म र तीर्थव्रत गर्नुपर्ने व्यवस्था छ ।

धर्मपत्नीको पालनपोषण
पतिव्रता (सती) र धर्मशीला विवाहिता पत्नीलाई जसले त्याग गर्छ, त्यसले सधैँ नरकको वैतरणी नदीमा वास गर्नुपर्छ—

पतिव्रतां साधुशीलामूढां धर्मेषु निश्चलाम् ।
परित्यजन्ति ये मूढास्तेषां वासस्तु सन्ततम् ।।—गरुडपुराण, प्रेतकल्प ४७।१० ।

वैदिक धर्मशास्त्रले पतिव्रता (सती) नारीलाई देवतातुल्य मानेको छ । धर्मराजले (यमराजले) सती सावित्रीसँग हार खानुपरेको सत्यवान् र सावित्रीको पौराणिक आख्यानले पनि यही कुरा पुष्ट गर्दछ । सती स्त्रीमा दैवी शक्ति हुने र त्यस्ती स्त्रीलाई अनादर गर्दा वा दुःख दिँदा अनिष्ट आइलाग्ने भन्ने वैदिक धर्मशास्त्रले मानेको सिद्धान्त नेपाली समाजमा पनि मान्य देखिन्छ ।

पत्नी आफ्ना इच्छाले पाइने होइन, देवताले दिएर मात्र पाइने हो, त्यसैले देवतालाई खुसी पार्न पनि आफ्नी धर्मपत्नीलाई राम्रो व्यवहार गरेर भरणपोषण गर्नुपर्छ भनेर मनुस्मृतिमा बताइएको छ—

देवदत्तां पतिर्भार्यां विन्दते नेच्छयाऽऽत्मनः ।
तां साध्वीं बिभृयान् नित्यं देवानां प्रियमाचरन् ।।—९।९५।

धर्म, अर्थ र काम पुरुषार्थका त्रिवर्गको गरुङ्गो भार वहन गर्न एक्लैले सकिँदैन, त्यसैले स्वच्छन्द भएर होइन, शास्त्रको निर्देश पालन गरेर सधैँ पत्नीको भरणपोषण गर्नुपर्छ—

गुर्वी सा धूस् त्रिवर्गस्य वोढुं नैकेन शक्यते ।
यतस्ततोऽन्वहं भूत्वाऽस्ववशो बिभृयाच्च ताम् ।।—(वेद–)व्यासस्मृति २।१५।

पति र पत्नीका आदर्श सम्बन्धलाई परिभाषित गर्ने यस्ता शास्त्रीय वचनहरू थुप्रै पाइन्छन् । यस्ता वचनमा धर्मपत्नीप्रति राम्रो व्यवहार गर्न पतिहरूलाई सम्झाइएको देखिन्छ ।

गृहस्थधर्मको महत्त्व
गृहस्थधर्मको अत्यन्त महत्त्वपूर्ण र ठूलो भार उठाउन तयार भएर वरवधू धर्मविवाहमा संलग्न हुने हुनाले त्यस अवसरमा तिनको सारै ठूलो सम्मान पनि गर्ने गरिन्छ । तिनलाई गृहस्थधर्म पालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले नै त्यति बेला आफ्नो गच्छेअनुसार लुगाफाटा, गरगहना, धनदौलत, घरखेत इत्यादि द्रव्यहरू उपहारका रूपमा दिने गरिन्छ । धर्मविवाहमा संलग्न वधूलाई (दुलहीलाई) राजाले र स्नातकले पनि सम्मान गरेर बाटो छाड्न पर्छ भन्ने व्यवस्था धर्मशास्त्रले गरेको छ—

स्थविर–बाला–ऽऽतुर–भारिक–स्त्री–चक्रीवतां पन्थाः समागमे परस्मै¬परस्मै देयः, राज–स्नातकयोः समागमे राज्ञा स्नातकाय देयः, सर्वैरेव वध्वा ऊह्य¬मानायै । —वासिष्ठ धर्मशास्त्र १३।५८–६०।

अर्थात्— बुढा, बालक, रोगी, भारी बोकेका, स्त्री, यानमा चढेका व्यक्तिहरू सँगै भेटिँदा अघिल्ला–अघिल्लाले पछिल्ला–पछिल्लालाई बाटो छाडिदिनुपर्छ, राजा र वेद पढेका स्नातकसँगै भेटिँदा राजाले स्नातकलाई बाटो छाडिदिनुपर्छ, विवाहकी वधूलाई त राजा र स्नातकले समेत बाटो छाड्न पर्छ ।

उपसंहार
शास्त्रमा बताइएका यी र यस्तै प्रकारका अरू कुराहरू पनि आदर्श दाम्पत्यजीवनका महत्त्वपूर्ण सूत्रहरू हुन् । यस्ता शास्त्रीय निर्देशहरूको पति र पत्नी दुवैले धर्मभावनाका साथ पालन गरेर जीवनयात्रा चलाउने हो भने दाम्पत्यजीवन र सन्ततिहरूको जीवनसमेत सुखमय हुनुका साथै कहिल्यै पनि विवाहको विच्छेद हुने अवस्था आउने देखिँदैन ।

जेठ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्