कोरोनाका कारण नियमित आम्दानी गुमाएका अधिकांश परिवार सहयोगको आसमा

काठमाडौँ – पछिल्लो पटक लकडाउन सुरु भएयता जेठ पहिलो साताभित्र ५३ प्रतिशत परिवारले रोजगारी र ४० प्रतिशतले रोजगारीका साथै नियमित आम्दानीका अन्य स्रोत गुमाएको एक सर्वेक्षणले देखाएको छ।

यो सर्वेक्षण युनिसेफ नेपालको सहकार्यमा शेयरकाष्ट इनिसियटिभ नेपालले जेठ ७, ८ र ९ गते ७७ वटै जिल्लाका ५०३ स्थानीय पालिका समेटेर करिब ३ हजार जना बालबालिकाका अभिभावकमाझ गरेको थियो।

उत्तरदातामध्ये ४६५ महिला र ५४५ पुरुष थिए। रोजगारका अवसर प्रदान गर्ने कृषि तथा पर्यटन व्यवसायमा काम गर्ने श्रमिकका साथै दैनिक ज्यालादारीमा काम गर्ने अत्यधिक कामदार नै रोजगारी तथा नियमित आम्दानी गुमाउनेमा सबैभन्दा धेरै भएको सर्वेक्षणले देखाएको छ।

अरू प्रदेशको दाँजोमा बागमती र कर्णाली प्रदेशमा रोजगारी तथा आम्दानी गुमाउनेको प्रतिशत धेरै छ।

नियमित आम्दानीका स्रोत बन्द हुँदा धेरै बालबालिका र उनीहरूका परिवारका सदस्यको सामाजिक–आर्थिक अवस्था खस्किने र गरिबीतर्फ धकेलिने सम्भावना बढ्नेछ।

आर्थिक संकटले धेरै अभिभावकलाई पौष्टिक आहार, बालबालिकाको पठनपाठनका साथै दैनिक उपभोग्य तथा खाद्यान्न सामग्री र अत्यावश्यक खर्चमा समेत कटौती गर्न बाध्य पार्छ।

लकडाउन भएयताको एक महिनाको अवधिमा ९९ प्रतिशत अभिभावकले सरकारबाट कुनै किसिमको आर्थिक या जिन्सी सहयोग प्राप्त नगरेको बताएका छन्।

अघिल्लो वर्ष युनिसेफ नेपालको सहकार्यमा शेयरकाष्ट इनिशियटिभ नेपालले १८ वर्षभन्दा कम उमेरका बालबालिका भएका घरपरिवारमा कोरोना महामारीले उत्पन्न अवस्थाबारे विभिन्न चरणमा टेलिफोन अन्तर्वार्ताका माध्यमबाट राष्ट्रिय सर्वेक्षण गरेको थियो।

मे २०२० देखि सुरु भएको सर्वेक्षण ४ देखि ६ हप्ताको अन्तरालमा ६ पटक सम्पन्न गरिएको थियो। सर्वेक्षणमा ६ हजारदेखि ७ हजार ५ सय जना अभिभावकसँग गरिएको अन्तर्वार्तामा जनजीविका, स्वास्थ्य तथा सरसफाइ, बालबालिकाको शिक्षामा पहुँच, बालबालिकाको पोषण, स्वास्थ्योपचार, स्तनपान र गर्भवती महिलाको अवस्थाजस्ता विषय समेटिएका थिए।

सर्वेक्षणले बन्दाबन्दी भएको पहिलो दुई महिनामा १८ वर्षभन्दा कम उमेरका बालबालिका भएका ६० प्रतिशत घरपरिवारले सामाजिक तथा आर्थिक असहजता भोग्नुपरेको देखाएको थियो।

यो एक वर्षको अवधिमा धेरै परिवारको आर्थिक अवस्थामा सुधार आए पनि ४० प्रतिशत परिवार अझै गरिबीको रेखामुनि धकेलिने आशंका छ।

सर्वेक्षणले २० प्रतिशत परिवारले बालबालिकाको खाना मात्रा र छाक घटाएको र ३० प्रतिशत बालबालिकाले मात्रै दूर शिक्षामार्फत पठनपाठनमा सहभागी हुन सकेको देखाएको छ। निम्न आय भएका र सीमान्तकृत समुदायका बालबालिका दूर शिक्षाको अवसरबाट वञ्चित हुनुपरेको देखिन्छ।

यद्यपि, लकडाउनको अवधिमा बालश्रमिकको संख्या निकै घटेको देखिन्छ। लकडाउन अघि ३१ प्रतिशत बालबालिका कुनै न कुनै किसिमको बालश्रममा भएकामा लकडाउनको अवधिमा ८ प्रतिशतमा घटेको थियो। तर, लकडाउन सकिनेबित्तिकै २० प्रतिशत घरधुरीका यी बालबालिका बालश्रममा फर्किसकेका थिए।

तथ्यांकले लकडाउनका कारण बालश्रममा अत्यधिक कटौती देखिए पनि लकडाउन समाप्त हुनेबित्तिकै आर्थिक कठिनाइबाट पार पाउन र परिवारका सदस्यलाई सहयोग गर्न बालबालिका पुनः काममा फर्किने गरेको देखाएको छ।

युनिसेफले अघिल्लो वर्ष सर्वेक्षणमा सहभागी करिब ६ हजार घरपरिवारका १० हजार बालबालिकाको शिक्षा र पोषणमा सहयोगका लागि प्रति बालबालिका २ हजार रुपैयाँका दरले बढीमा दुई जना बालबालिकाका लागि नगद सहयोग प्रदान गरेको थियो। यो आर्थिक सहयोगको उद्देश्य बालबालिकाको पोषण र अन्य आवश्यकता पूर्तिका लागि घरपरिवारलाई पर्ने आर्थिक भार कम गर्न मद्दत गर्नु रहेको थियो।

 

जेठ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्