दुई दशकयता बालश्रमिकको संख्या १६ करोड पुग्यो

काठमाडौँ – दुई दशकयता बालश्रमिकको संख्या १६ करोड पुगेको एक अध्ययनले देखाएको छ। बालश्रम उन्मूलन गर्ने तर्फको नेपाल सरकारको प्रगति कोरोनामा महामारीका कारण खतरामा पर्न सक्ने अन्तर्राष्ट्रिय श्रम संगठन र युनिसेफले चेतावनी दिएको छ।

विगत चार वर्षमा बालश्रमिकको संख्यामा विश्वभरि ८४ लाखले वृद्धि भई १६ करोड पुग्नुका साथै दशौं लाख अन्य बालबालिका कोभिड–१९ को प्रभावका कारण जोखिममा रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र युनिसेफद्वारा जारी पछिल्लो प्रतिवेदनले जनाएको छ।

१२ जुन अर्थात् बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा जारी गरिएको बालश्रमः २०२० को अनुमान, प्रवृत्ति र यसपछिको बाटो शीर्षकको उक्त प्रतिवेदनले बालश्रमको अन्त्य गर्नेतर्फ भइरहेको प्रगति विगत २० वर्षमा पहिलो पटक रोकिएको हुनाले सन् २००० देखि २०१६ सम्म बाल श्रमिकको संख्यामा ९ करोड ४० लाखले कमी आएको अवस्था उल्टिने खतरा रहेको चेतावनी दिएको छ।

विश्वभरि रहेका बालश्रमिकमध्ये ५ देखि ११ वर्षबीचको उमेर समूहका बालश्रमिकको संख्यामा उल्लेख्य वृद्धि भई उनीहरूले आधाभन्दा बढी हिस्सा लिइसकेको कुरा प्रतिवेदनमा उल्लेख छ। श्रमिकको स्वास्थ्य, सुरक्षा तथा मनोसामाजिक अवस्थामा असर पार्न सक्ने भनी परिभाषित जोखिमपूर्ण कार्यमा संलग्न ५ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको संख्यामा २०१६ यता ६५ लाखले वृद्धि भई ७ करोड ९० लाख पुगेको छ।

बालश्रमविरुद्ध कार्य गर्न सरकार, सामाजिक साझेदार तथा नागरिक समाजको प्रतिवद्धता व्यक्त गर्ने क्रम बढे पनि बालश्रमिकको संख्या अझै विकराल रहेको नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनको देशीय कार्यालयका निर्देशक रिचर्ड हावर्डले बताए।

वर्तमान बालश्रमको अवस्थाले हरेक बालबालिकाको अधिकार उल्लंघन भएको दर्शाउनुका साथै गरिबी बढाउँछ र आर्थिक वृद्धि एवं समतामूलक विकासलाई सीमित तुल्याइदिन्छ।

बालश्रमसँग सम्बन्धित जोखिम सम्बोधन गर्न गरिबी तथा बहिष्करणको जोखिममा रहेका परिवारका लागि सामाजिक सुरक्षा र मर्यादित कामको अवसर एकताबद्ध रूपमा प्रदान गर्दै कार्यक्रम सञ्चालन गर्नु अहिलेको मुख्य आवश्यकता रहेको युनिसेफले जनाएको छ।

महामारीको असरस्वरूप २०२२ को अन्त्यसम्म थप ९० लाख बालबालिका बालश्रममा धकेलिने जोखिममा रहेको कुरा पनि प्रतिवेदनमा औंल्याइएको छ।

सामाजिक सुरक्षामा पहुँच पुग्न नसकेको खण्डमा भने उक्त संख्या ४ करोड ६० लाख पुग्ने कुरा पूर्वानुमान अध्ययनले देखाएको छ।

२०१६ देखि नै अगाडि बढेका एसिया तथा एसिया प्रशान्त क्षेत्र एवं दक्षिण अमेरिका तथा क्यारेबियन क्षेत्रमा केही प्रगति हासिल भइरहेकामा कोभिड–१९ ले त्यसलाई खतरामा पारेको छ।

नेपालमा बालश्रम उन्मूलनतर्फ भइरहेको प्रगति पनि वर्तमान महामारीको अवस्थाले गर्दा अवरुद्ध हुन सक्छ।

अन्तर्राष्ट्रिय श्रम संगठन र तथ्यांक विभागद्वारा संयुक्त रूपमा प्रकाशित नेपाल बालश्रम प्रतिवेदन २०२१ ले नेपालमा बाल श्रमिकको संख्या घट्दो क्रममा रहेको र सन् २००८ मा १६ लाख बाट २०१८ मा आइपुग्दा ११ लाखमा झरेको कुरा उल्लेख गरेको छ।

खतरायुक्त काम गरिरहेका बालबालिकाको संख्या २००८ मा ६ लाख २० हजार रहेकोमा २०१८ मा २ लाख २० हजारमा झर्दै उल्लेख्य मात्रामा कमी आएको छ।

यी उपलब्धि अहिलेको कोभिड–१९ महामारीले सिर्जना भएका चुनौतीका कारण जोखिममा रहेका छन्।

जेठमा गरिएको द्रूत बालबालिका र परिवार ट्र्याकर सर्वेक्षणअनुसार ५० प्रतिशतभन्दा बढी परिवारले रोजगार र जीविकोपार्जन गुमाएका छन्,’ नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विसले भने।

उनका अनुसार पहिलेदेखि नै श्रम गरिरहेका बालबालिकाले कोभिड–१९ का कारण निम्तिएको आर्थिक क्षति तथा विद्यालय बन्दजस्ता कारणले थप समय श्रम गरिरहेका वा चिन्ताजनक अवस्थामा काम गरिरहेका हुन सक्छन् भने संकटापन्न परिवारका सदस्यहरूले रोजगारी तथा आम्दानी गुमाएका कारण अन्य थुप्रै बालबालिका निकृष्ट बालश्रममा संलग्न हुन बाध्य पारिएका हुन सक्छन्।

‘यस महामारी नियन्त्रणमा सामूहिक सफलता भनेको यो जटिल अवस्थामा कति परिवारलाई सहयोग गर्न सक्यौं र कति बालबालिकालाई हुर्कंदै एवं विकसित हुँदै अगाडि बढ्नका लागि सहयोग गर्न सक्यौं भन्ने पक्षबाट समेत मापन गरिनुपर्छ,’ उनले भने।

 

जेठ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्