जिरउडदेखि किन रिसाइरहेका छन् एमबाप्पे ? विश्व च्याम्पियन फ्रान्सलाई युरोकपमा असर पर्ने चिन्ता

सहकर्मी ओलिभर जिरउडको ‘स्टेटमेन्ट’लाई लिएर केलियन एमबाप्पेले  गम्भीर आपत्ति जनाएपछि युरोकपमा आफ्नो यात्रा नथाल्दै विश्व च्याम्पियन फ्रान्सको टोलीभित्र किचलो देखिएको छ।

केही दिनअघि बुल्गेरियासँग भएको खेलमा जिरउडले बेन्चबाट आएर दुई गोल गरेका थिए। त्यस खेलपछि जिरउडले भनेका थिए, ‘कहिलेकाहीँ तपाईँ दौडिरहेको हुनुहुन्छ तर तपाईँलाई बल आइरहेको हुँदैन। बरु हामीले एक अर्कालाई राम्रोसँग भेटिरहेका हुन्छौँ।’

त्यस खेलमा ४१ औँ मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान छिरेका जिरउडले अन्तिम समयमा २ गोल गरेका थिए र फ्रान्स ३-० गोलले विजयी भएको थियो। खेलमा दुईवटा राम्रा अवसरमा एमबाप्पेले आफै प्रयाश गरेका थिए र जिरउड ‘पास’ खोजिरहेका थिए। जिरउड पछिल्लो समय फ्रान्सको सुरुवाती-११ टोलीमा पर्दैनन् र त्यसका लागि उनी प्रयाश गरिरहेका छन्।

एमबाप्पेले जिरउडको उक्त भनाई आफूप्रति लक्षित रहेको भन्दै प्रशिक्षक डिडियर डेस्च्याम्प्सलाई आपत्ति जनाएका थिए। जिरउडले आफ्नो क्षमतामाथि ब्यङ्ग गरेको एमबाप्पेको बुझाई छ।  तर जिरउडले आफ्नो उक्त भनाई कुनै खेलाडीप्रति लक्षित नभएको स्पष्टोक्ति दिएको बेलायती अनलाइन  मिरर डट को डट युकेले उल्लेख गरेको छ। एमबाप्पे पछिल्ला केही वर्षमा लगातार पहिलो रोजाईका स्ट्राइकर हुन्। उनको दौडने गति अन्य फुटबलरको तुलनामा बढि तेज छ।

उनकै प्रेरणामा फ्रान्सले गत विश्वकपको उपाधि उचालेको थियो। उनी विश्वकपको फाइनलमा गोल गर्ने पेलेयताका पहिलो किशोर खेलाडी बनेका थिए र सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड पनि जितेका थिए। उनी फ्रान्सको घरेलु लिगमा तीन सिजनयता लगातार सर्वाधिक गोलकर्ता बनिरहेका छन्। बुल्गेरियासँगको खेलअघि एमबाप्पेले फ्रान्सका लागि लगातार पाँच खेलमा गोल गरेका थिए।

जिरउडको स्पष्टिकरणप्रति २२ वर्षीय एमबाप्पेको चित्त बुझेको छैन। प्रशिक्षक डेसच्याम्पसले एमबाप्पे र जिरोड दुवैलाई सँगै राखेर कुराकानी गरेका थिए। समाचारहरुमा जनाइएअनुसार प्रशिक्षणका दौरान जिरउडले एमबाप्पेलाई दुई वटा पास उपलब्ध गराएर त्यसपछि उनलाई एमबाप्पेसँग अंकमाल गर्न पनि लगाइएको थियो। सन् २०१७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेयता एमबाप्पेले फ्रान्सका लागि ४४ खेल खेल्दै १७ गोल गरेका छन्। फ्रान्स प्रतियोगितामा साविक उपविजेता रहेको छ। घरेलु मैदान आयोजित गत संस्करणको फाइनलमा फ्रान्सले पोर्चुगलसँग १-० गोलको हार ब्यहोरेको थियो।

फ्रान्स विश्वकपलगत्तै युरोकप पनि जित्ने प्रयाशमा छ। उसले यस्तै सफलता सन् २००० मा पनि हात पारेको थियो। उसले त्यतिबेला लगातार विश्वकप र युरोकप जितेको थियो। फ्रान्सले युरोकपमा यसपटक पहिलो चरणमा जर्मनी, पोर्चुगल र हंगेरीसँग खेल्दै छ।

जेठ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्