क्रिष्टियन एरिक्सनको अवस्था स्थिर

डेनमार्कले खेल हार्‍यो, तर जित्यो जीवन

युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा फिनल्याण्ड विजयी भएको छ । समूह बी मा रहेको फिनल्याण्डले डेनमार्कलाई १–० ले पराजित गरेको हो । उसले प्रमुख प्रतस्पिर्धामा पहिलोपटक जित दर्ता गर्न सफल भएको हो ।

पहिलो हाफको अन्तिमतिर डेनमार्कका मिडफिल्डर क्रिष्टियन एरिक्सन मैदानमै बेहोस भएर लडेपछि रोकिएको खेल उनी अस्पतालमा होसमा आएपछि पुन भएको हो ।

एरिक्सन होसमा आएको थाहा पाएपछि भएको खेलमा ५९ औँ मिनेटमा पोहजान्पालोले ५९ औँ मिनेटमा फिनल्याण्डका लागि गोल गरे । ७४ औँ मिनेटमा डेनमार्कले पेनाल्टी पाएको थियो, तर साथी खेलाडी गम्भीर बिरामी पर्दा मानसिक रुपमा अस्थिर रहेको टिमका खेलाडी गोल गर्नबाट चुके । होब्जर्गले पेनाल्टीमा गोल गर्न सकेनन् ।

मैदानबाटै अक्सिजनसहितको स्ट्रेचरमा एरिक्सनलाई निकालिँदै

दुवै टिमका खेलाडीको आग्रहमा खेल पुनः गरिएको युरोपियन फुटबलको प्रशासकीय निकायले जनाएको छ । पहिलो हाफको बाँकी पाँच मिनेटको खेलपछि पाँच मिनेटको ब्रेक लिएर दोस्रो हाफ भएको हो ।

२९ वर्षका एरिक्सनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र उनी होसमै रहेको डेनिस फुटबल एसोसिएसनले जनाएको छ ।

डेनमार्कको एक पत्रिकाले ‘डेनमार्क लस्ट, बट लाइफ वन’ लेखेको छ । डेनमार्कमा गहिरो संवेगका बिच एरिक्सन जीवित रहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको थाहा पाएर केही राहतको अवस्था छ । विश्वभरबाट फुटबलप्रेमीले उनको स्वास्थ्यलाभका लागि कामना गरिरहेका छन् ।

डेनिस फुटबल एसोसिएसनका अनुसार खेलाडीहरुले एरिक्सनका लागि बाँकी खेल खेलेको बताएको छ । सबै खेलाडीले एरिक्सनसँग कुरा पनि गरेको उल्लेख छ । खेलपछिको पत्रकार सम्मेलनमा डेनमार्कका प्रशिक्षक रोएका थिए ।

जेठ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्