एरिक्सनको जीवन रक्षाका हिरोहरु

प्राण जाेगाउने साथीहरु

क्रिष्टियन एरिक्सन अहिले अस्पतालमा छन् र उनको अवस्था स्थिर तथा सुधारको क्रममा रहेको उपचारमा संलग्न चिकित्सक तथा युरोपेली एवम् डेनिस फुटबल एसोसिएसनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार राति युरोकप फुटबल अन्तर्गत समूह बी को खेलमा डेनमार्कले फिनल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको थियो । एरिक्सन पहिलो हाफको अन्तिमतिर मैदानमा बेहोस भएर लडे । तत्कालै साथी खेलाडीहरुले गरेको सहयोग, स्वास्थ्य टिमको तत्कालको सेवा तथा उचित स्वास्थ्य सम्बन्धी व्यवस्थाका कारण एरिक्सन जीवित र होसमा छन् ।

एरिक्सनको यो बेहोसीदेखि जीवनसँगको यो यात्रामा कप्तान सिमोन केयर तथा टिमका साथी खेलाडीको भूमिका महत्वपूर्ण रह्यो । कप्तान सिमोनले एरिक्सन बेहोस भए लगत्तै देखे र स्वास्थ्य टिम नआइपुगुन्जेल प्राथमिक स्वास्थ्य सेवा दिए । उनले एरिक्सनको जिब्रोले स्वास नरोकियोस् भन्नका (एअर पासको व्यवस्थाका लागि) लागि मिलाइदिए ।

स्वास्थ्य टिम आएपछि डेनिस खेलाडीहरुले उपचार प्रक्रियाको गोप्यताका लागि एरिक्सनको वरिपरी मानव सांग्लो बनाए । खेलाडीहरु गम्भीर रुपमा आहत भएका थिए । कोही रुँदै थिए भने कोही प्रार्थना गरिरहेका थिए । मैदानमा स्वास्थ्य टिमले प्रारम्भीक उपचार गरेर अक्सिजन दिएपछि स्ट्रेचरमा राखेर लगिएको थियो । त्यसक्रममा स्वास्थ्य टिमसँगै मैदानमा आएका विपक्षी टिम फिनल्याण्डका समर्थकले पनि राम्रो भूमिका निर्वाह गरे । उनीहरुले उपचार प्रक्रियाको गोप्यताका लागि आफ्नो देशको झण्डालाई पर्दाका रुपमा प्रयोग गर्न दिए ।

एरिक्सनलाई भएको सम्भावित कार्डिक अरेस्टपछि रोकिएको खेल अन्यौलमा थियो । खेलाडीहरु निराश तथा अत्तालिएका थिए । तर एरिक्सनलाई प्राथमिक उपचार दिएर स्वास्थ्य टिम आउन्जेल जीवित राखेका कप्तान सिमोनले अर्धैय बनेकी एरिक्सनकी श्रीमतीलाई सान्त्वना तथा सहानुभूति प्रदान गरे ।

खेलाडीको टिम, स्वास्थ्य टोली तथा दर्शक एवम् खेल पदाधिकारीकाे अति तीव्र गतिको सुझबुझपूर्ण प्रतिक्रियाले एरिक्सनको जीवन रक्षा सफल भएको बताइएको छ ।

एरिक्सन होसमा आएपछि टिमका साथी खेलाडीहरु पनि बोलेका थिए । र उनकै लागि रोकिएको खेल उनीहरुले मानसिक रुपमा अस्थिर रहे पनि खेले । खेलमा फिनल्याण्डसँग १–० ले पराजित भए पनि डेनमार्कले सबै ‘हिरो’ हरुको सहयोगमा जीवन जित्न सफल भएको छ ।

जेठ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्