सांसद वैद्यविरुद्ध दर्ता भएको उजुरी असंवैधानिक

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय मकवानपुरले गैरकानुनी रुपमा बागमती प्रदेशका सांसद नरोत्तम वैद्यविरुद्धको उजुरी दर्ता गरेको छ।

संघीय वा प्रदेशसभाका सांसदले सदनभित्र अभिव्यक्त गरेको विषयलाई लिएर त्यहीँबाहेक अन्यत्र कुनै पनि निकायमा प्रश्न उठाउन वा उजुरी गर्न नपाइने भए पनि सांसद वैद्यविरुद्धको उजुरी दर्ता गरिएको हो।

उनले शुक्रबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि भाग लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक काम गरेको र उनलाई कुनै पनि हालतमा रोक्नुपर्ने बताउँदै त्यसका लागि ‘आफू नाथुराम गोड्से बन्न तयार रहेको’ अभिव्यक्ति दिएका थिए।

भारतमा महात्म गान्धीको हत्या गोड्सेले गरेकाले नेपालको सन्दर्भमा ओलीविरुद्ध आफू त्यही भूमिका निर्वाह गर्न तयार रहेको उनको आशय थियो। चौतर्फी दबाबपछि उनले माफी माग्दै शनिबार उक्त अभिव्यक्ति फिर्ता लिएका छन्। वैद्यविरुद्ध आपराधिक दुरुत्साहनमा मुद्दा भएको मकवानपुरका प्रहरी प्रमुख सोमेन्द्रसिंह राठोरले जानकारी दिए।

संविधानको धारा १८७ (१) मा प्रदेशसभाभित्र पूर्ण वाक स्वतन्त्रताको हक हुने सुनिश्चित गर्न व्यक्त विचारलाई लिएर कुनै सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा अदालतमा कारबाही चलाउन पाइँदैन भन्ने उल्लेख छ।

संविधानको उक्त धारामा लेखिएको छ, ‘यस संविधानको अधीनमा रही प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रता रहनेछ र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा काबारही चलाइने छैन।’

यदि कुनै सदस्यले सीमा बाहिर गएर गतिविधि गरेमा कारबाही गर्ने अधिकार सभामुखलाई मात्रै हुने व्यवस्था संविधानले गरेको छ।

प्रदेशसभाको निर्णयबाट त्यस्ता सदस्यलाई सचेत गराउने, नसिहत दिन वा तीन महिना नबढ्ने गरी कैद गर्न वा दश हजारसम्म जरिवाना गर्न अधिकार सभामुखलाई छ।

जेठ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्