कोरोनाको तेस्रो लहरको सामना गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री राउत

जनकपुरधाम– कोरोनाको तेस्रो लहरको लागि प्रदेश २ सरकार तयार रहेको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्।

प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा उठेको सवालहरुको जवाफ दिँदै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्।

मुख्यमन्त्री राउतले जनकपुरधामस्थित मणिपाल शिक्षण अस्पतालको भवनमा निर्माण गरेको कोभिड १९ विशेष अस्पतालको काम सम्पन्न भएको र असार ३ गतेदेखि संचालनमा आउने बताए।

कोरोनाको पहिलो लहरमा समेत भारतमा कोरोना देखिएपछि आफूहरुले पिसिसिएमसीको बैठक बसेर तयारी थालेको र अब तेस्रो चरणको लागि पनि तयारी भइरहेको बताए।

विज्ञहरुले तेस्रो लहरमा बच्च बढी प्रभावित हुने भनिरहेकाले त्यस अनुरुप तयारी भइरहेको मुख्यमन्त्री राउतले बताए।

उनले भने, ‘मणिपालमा अहिले सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा आउन लागेको छ। यहाँ तेस्रो लहरलाई ध्यानमा राखेर बच्चाहरुको लागि के गर्न सकिन्छ, कसरी तयारी गर्न सक्छौँ गरिरहेका छौँ । माथि पनि कसरी तयारी गर्न सकिन्छ त्यसमा लागेका छौँ’, राउतले अगाडी भने, ‘अब बच्चाको लागि ठूलो खतरा रहेकोले कसरी बचाउने त्यो हाम्रो दायित्वभित्र छ। बच्चाहरु संक्रमित भए कसरी उपचार गर्ने यसका लागि प्रदेश सरकार गम्भिर छ।’

मुख्यमन्त्री राउतले विभिन्न जिल्लास्थित अस्पतालहरुमा स्पेशल केयर युनिट, आइसियुको निमार्णको लागि निर्देशन दिएको र बजेट समेत विनियोजन गरिएको दावी गरे।

जेठ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्