कोपा अमेरिका फुटबल

नेइमारको चमकमा ब्राजिलको शानदार जित

कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले शानदार जितसहित आफ्नो यात्रा सुरु गरेको छ ।

समूह ए अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० ले पराजित गरेको हो ।

खेलको एक दिन पहिले टिमका १२ खेलाडी तथा प्रशिक्षण अधिकारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि समस्यामा आएको भेनेजुएला कमजोर देखियो ।

घरेलु टोली ब्राजिलको जितमा २३ औँ मिनेटमा मार्क्वीन्होसले गोल गरि सुरुवाति अग्रता दिलाए । ६४ औँ मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गरि टिमको अग्रता दोब्बर पारे । ८९ औँ मिनेटमा नेइमारको सहयोगमा गाब्रिएल बार्बोसा अल्मेइदाले गोल गरेपछि ब्राजिल ३–० ले विजयी भयो ।

साबिक विजेता ब्राजिलले उपाधि रक्षाको यात्रा सहज जितका साथ गरेको हो । नौपटक कोपा अमेरिका जितेको ब्राजिलले १२ वर्षपछि सन् २०१९ मा उपाधि जितेको थियो ।

समूह ए मा कोलम्बिया, इक्वेडर र पेरु पनि छन् ।

जेठ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्