रुपन्देहीमा थप एकसाता निषेधाज्ञा कायम, मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालनमा अनुमति

बुटवल– रुपन्देहीमा निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै व्यवसाय सञ्चालनका लागि स्थानीय प्रशासनले अनुमति दिएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको आदेशअनुसार असार १ गतेदेखि बजार खुल्नेछ। तर त्यसका केही सीमा तय गरिएका छन्।

मंगलबारदेखि लागु हुने नयाँ स्वरुपको निषेधाज्ञामा माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म र अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने आदेश भएको छ।

त्यस्तै विकास निर्माणको कामको निरन्तरता दिन बेलुका ६ बजेदेखि विहान ३ बजे सम्म सवारी साधान चलाउने जनाइएको छ।

आदेशअनुसार होटल रेष्टुरेन्ट, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम गोष्ठी, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टल स्टोर, सपिङ मल, ब्युटीपार्लर, स्वीमिङ पुल, संग्रहालय, जिमखाना, शिक्षण संस्था, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर, निजी तथा सार्वजनिक सवारी सञ्चालनका लागि अनुमति छैन।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक साता निषेधाज्ञा कायम रहने जनाएको छ।

जिल्लास्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले असार ७ गते राती १२ बजे सम्मका लागि चौथो पटक निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो। जस अनुसार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई निरन्तरता दिँदै आदेश जारी गरेका हुन्।

त्यस्तै ‘नो मास्क, नो मुभमेन्ट’ अभियान सञ्चालन गर्ने र बजार अनुगमनलाई सघन बनाउने निर्णय गरिएको छ।

आदेश उल्लंघन गर्ने, मुल्यवृद्धि गर्ने, कालोबजारी तथा जमाखोरी गरेको पाए कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही गर्ने आदेशमा उल्लेख छ। अन्य आदेश भने यथावत् जारी रहेको प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा के कसरी लैजाने भन्नेबारे स्थानीय उद्योगी व्यवसायी, बैकंर्स, संघसंस्था, सुरक्षा निकाय लगायतसँग सुझाव तथा राय लिई निचोडअनुसार निषेधाज्ञा कायमै राख्ने तर केही क्षेत्रलाई खुकुलो बनाउने आदेश गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए।

निषेधाज्ञा खुकुलो भएपनि आदेशविपरित सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ। आदेश विपरित सञ्चालन गरेमा गरेमा कोभिड १९ व्यवस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारवाही गरिने बताइएको छ।

जेठ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्