बाजुरामा बाढीले बगाउँदा दुईजना बेपत्ता

धनगढी– बाजुरामा लगातारको वर्षासँगै खोलामा आएको बाढीले बगाउँदा एक बालक र एक महिला बेपत्ता भएका छन्।

जिल्लाको त्रिवेणी नगरपालिका किम्नी खोलामा आएको बाढीले बगाउँदा एक बालक बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा सोही नगरपालिका–५ किम्नीका स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए।

उनले दिएको जानकारी अनुसार गाउँ नजिकै रहेको किम्नी खोलामा आएको बाढीले सोमबार बिहान बगाएर बालकलाई बेपत्ता पारेको हो। बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक साउँदले जानकारी दिए। बेपत्ता भएका बालकको खोजीका लागि प्रहरी चौकीबाट टोली घटनास्थल गएको छ।

यसैगरी सोमबार नै बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला पनि बेपत्ता भहेकी छन्। गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको स्थानीय धनबहादुर बोहराले बताए।

जेठ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्