राष्ट्रिय आविष्कार केन्द्रद्वारा सरकारलाई ५० थान भेन्टिलेटर हस्तान्तरण

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको छ।

ग्राडियन हेल्थ सिस्टम युएसएले प्रदान गरेको ५० थान भेन्टिलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा नेपाल ल्याइ सोमबार अमेरिका–नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे।

सहयोग स्वरुप प्रदान गरिएको भेन्टिलेटर स्वास्थ्य मन्त्रालयमार्फत् नेपालका विभिन्न ९ वटा अस्पतालमा हस्तान्तरण गर्ने जनाइएको छ।

भेन्टिलेटर बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउने तथा विरामीलाई बेडको अभाव हुन नदिने गरी आवश्यक पूर्वाधारको विकास गरिने बताए।

उनले स्वास्थ्य सामग्री सहयोग गर्नेहरुको नाम सामग्रीमा स्टीकर बनाएर कहिल्यै नमेटिने गरी टाँसिने उल्लेख गर्दै नेपालीहरुको जीवन बचाउनको निम्ति सहयोग गर्न पनि अपिल गरे।

उनले भने, ‘सबै सरकारी अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने, जे जे इक्युपमेन्ट चाहिने हो त्यो सबै थप्ने, कोही पनि बिरामी जतिसुकै क्रिटीकल बिरामी होस्, सरकारी अस्पतालमा आएपछि सामान छैन, बेड छैन, भेन्टिलेटर छैन अथवा फलानो मेसिन बिग्रियो भनेर कोही फर्किनु पर्दैन। सबैलाई सरकारी अस्पतालमा आएपछि उपचार हुन्छ भन्ने कुराको ग्यारेन्टी हामी दिन सक्ने छौँ। यस्ता स्वास्थ्य सामग्री ज–जसले दिनुहुन्छ, स्पोन्सरवालाको नाम/स्टिकर कहिल्यै नमेटिने गरी राख्ने।’

स्वास्थ्य मन्त्रालयलाई दिइएको ५० थान भेन्टिलेटर ६ करोड रुपैयाँ बराबरको रहेको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ।

जेठ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्