संस्कृत भाषाको पुनर्जागरण गर्नुपर्छः रामचन्द्र पौडेल

फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमृत भाषाका रुपमा रहेको संस्कृतको पुनर्जागरण गरिनुपर्नेमा जोड दिएका छन्।

प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको ७० औँ वार्षिकोत्सवका अवसरमा आज जुम प्रविधिबाट आयोजित कार्यक्रममा उनले संस्कृत मासिने भाषा नभएको बताए। ज्योतिष, आयुर्वेद, दर्शनजस्ता ज्ञान, विज्ञान रहेकाले संस्कृत विश्वकै धनी भाषामध्येमा पर्ने पौडेलले सुनाए।

संस्कृत भाषाकै पृष्ठभूमिमा नेपाली भाषा परिष्कृत भएकाले राजनीतिकै कारण यसलाई बिगार्नु नहुने विद्यापीठका पूर्व विद्यार्थीसमेत रहेका पौडेलले बताए।

‘यही क्षेत्रमा समर्पित हुने संयोजकको आवश्यकता छ, राजनीतिक क्षेत्रबाट सहयोग गर्ने काम हामी गर्छौँ, संस्कृतको पुनर्जागरण गर्न लागिपर्नुपर्छ, निराशा छोडेर आशावादी बनौँ, जयतु संस्कृतम्‌बाट लोकतन्त्र स्थापना भएको छ, संस्कृतका विद्वानमा एकताको भावना आवश्यकता छ, गुरु सत्यका पक्षधर बन्नुपर्छ,’ उनले भने।

विसं २०२० देखि २०२४ सालसम्म आफूले तत्कालीन संस्कृत महाविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री उत्तीर्ण गरेको नेता पौडेलले सुनाए। ‘मलाई राजनीतिमा स्थिर हुन संस्कृत पृष्ठभूमिले साथ दिएको छ, संस्कृत र यसका विद्वानप्रति कृतज्ञ छु,’ उनले भने।

पूर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले प्राज्ञिक चेतनाको कोणबाट वाल्मीकि विद्यापीठलाई सम्झनुपर्ने बताए। चाणक्यले भारतवर्षमा चेतनाका माध्यमबाट एकता कायम गरेको उनको भनाइ थियो। विद्यापीठमा छिरेपछि राजनीतिक विचारको वाहकभन्दा पनि पूर्वीय संस्कृतिको वाहकका रुपमा सोचेर काम गर्नुपर्ने उनले बताए। बाहिरी आक्रमणबाट जोगिन पनि परिणाम दिने गरी काम गर्न उनको सुझाव छ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले पश्चिम पूर्वतिर फर्किरहेका बेला विश्वविद्यालय ज्ञानको अखण्ड भण्डार हो भन्ने सन्देश दिनुपर्ने बताए। कोरोनाकै कारण विश्वविद्यालयको दीक्षान्त गर्न नसकिएको उनले सुनाए। भदौ, असोजसम्ममा दीक्षान्त समारोह गर्ने उपकुलपति लामिछानेको प्रतिबद्धता छ। विश्वका अन्य विश्वविद्यालयसँग सहकार्य गर्न लागिएको विश्वविद्यालयले जनाएको छ।

शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडाले कोरोना कहरका कारण प्रविधिलाई उपयोग गरेर कक्षा चलाइएको बताए।

जेठ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्