बाख्रा वितरण विवादमा, आयातकर्तासँगको सम्झौता रद्द

मोरङ – अस्ट्रेलियाबाट भित्र्याएको बोयर जातको बाख्रा वितरण गरिएको विषय विवादित बनेपछि बेलबारी नगरपालिकाले कारबाही प्रक्रिया अगाडि सारेको छ।

सोमबार नगरपालिकामा सम्पन्न ६९ औं नगर कार्यपालिकाको बैठकले विवादित बनेको बोयर जातको बाख्रा वितरणपछि आयातकर्ता ग्रो अर्गानिक कृषि प्रालि संखुवासभासँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ।

जेठ १५ गते ग्रो अर्गानिक कृषि प्रालिले अस्ट्रेलियाबाट ल्याएको बोयर बाख्रा भन्दै पश्चिम नेपालबाट आयात गरिएको ९२ वटा बाख्रा वितरण गरेको थियो।

नगरपालिकाले जेठ ३ गते ग्रो अर्गानिकसँग फुल ब्लड बोयर जातको बाख्रा आयातका लागि १ करोड २५ लाख रुपैयाँमा ठेक्का लगाएको थियो।

यद्यपि, फर्मले अस्टे«लियाबाट प्लेन चार्टर गरी बाख्रा ल्याएको जनाउँदै नवलपरासी र नजिकका क्षेत्रका कृषकबाट बाख्रा जम्मा गरी ल्याएको थियो।

नगरपालिकाको बैठकपछि प्रवक्ता योगेन्द्र सुवेदीले ग्रो अर्गानिक कृषि .प्रालिले ठेक्काबापत जम्मा गरेको जमानत रकम जफत गरी सो संस्थालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णयसमेत गरेको जानकारी दिए। प्रवक्ता सुवेदीका अनुसार नगर कार्यापालिका सदस्य बिन्दुकला गुरुङको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ।

त्यसैगरी, नगरपालिकाले बाख्रा आयात गरेको ग्रो अर्गानिक कृषि प्रालि संखुवासभालाई ठेक्काबापत रकम भुक्तानी नगरेको प्रस्ट्याएको छ।

जेठ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्