यादवले बोलाए एकलौटी कार्यकारिणी परिषद्को बैठक, विधान संशोधनको तयारी

काठमाडौँ- जसपाका अध्यक्ष उपेन्द्र यादवले एक पक्षीय रुपमा कार्यकारिणी परिषदको बैठक आह्वान गरेका छन्।

यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षको सहमति विनै एकलौटी रुपमा बिहीबार पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाएका हुन्।

जसपाको ५१ सदस्यीय कार्यकारिणी परिषदमा यादव पक्ष बहुमतमा रहेको छ। यादवले अर्का अध्यक्ष ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको निर्णय निर्वाचन आयोगले अस्वीकार गरेपछि भावी रणनीतिबारे छलफल गर्न बैठक बोलाएका हुन्।

आयोगले दुवै अध्यक्षले एक अर्कालाई गरेको कारबाहीलाई मान्यता नदिएर विधान बमोजिम संयुक्त हस्ताक्षर लिएर आउन भनेको छ।

आयोगले दुवै अध्यक्षको हस्ताक्षर माग गरेपछि यादवले विधान संशोधन गरेर एकल अध्यक्षले नै पार्टीका सम्पूर्ण काम कारबाही गर्न सक्ने प्रावधान राख्ने गरी बिहीबारको बैठकमा प्रस्ताव पेश गर्ने सम्भावना रहेको एक नेताले जनकारी दिए।

असार १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्