विपद व्यवस्थापन कार्यकारी समितिको निर्णय

बाढी–पहिरो प्रभावितलाई अस्थायी आवासका लागि ५० हजार रुपैयाँ दिइने

काठमाडौँ – विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक, मनाङसहित देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित भएकाहरुलाई तत्काल राहत प्रदान गरि उद्धार तथा पुनर्स्थापनाको काम गर्ने निर्णय गरेको छ।

गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले खोजी, उद्धारका कामलाई द्रूत गतिमा चलाउँदै राहत तथा पुनर्स्थापनाको काम गर्ने निर्णय गरेको हो।

बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘उद्धार खोजीलाई जारी राख्दै उपचार आवश्यक परेकालाई तत्काल उपचार गर्ने, राहत स्वरुप खाद्यन्न तथा टेन्टहरु वितरण गर्ने तथा अस्थायी आवसका लागि स्थानीय तहबाट सहयोग उपलब्ध गराउने निर्णय भएको छ।’

बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना ,२०७८ का साथै विपद व्यवस्थापन स्वयंसेवक व्यूरो गठन तथा परिचालन कार्यविधि ,२०७८, प्रारम्भिक द्रूत लेखाजोखा कार्यविधि, २०७८, गैर सरकारी संस्था परिचालन सम्वन्धि कार्यविधि,२०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुननिर्माण सम्वन्धि कार्यविधि २०७८ लाई स्वीकृत गरेको छ । बैठकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका–१ को नेगी भन्ने स्थानमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ ।

बाढी पहिरोबाट प्रभावित भएका परिवारलाई प्रतिपरिवार अस्थायी आवास निर्माणका लागि २५–२५ हजारको दरमा दुई किस्तामा कुल ५० हजार रुपैयाँ स्थानीय तह मार्फत प्रदान गर्ने निर्णय भएको छ।

मनसुनको करिब १०० दिन बाढी तथा पहिरोसहितका प्राकृतिक विपत्तिको जोखिम उच्च हुने हुँदा सो अवधिको राहत उद्धार तथा जोखिम न्यूनिकरणका लागि तयार पारिएको विस्तृत कार्ययोजना पनि बैठकले पारित गरेको पोखरेलले जानकारी दिए।

सो कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि चारवटा कार्यविधि पारित भएको छ।

यस्तै दिउँसो ४ बजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पूर्ण मन्त्रीसहित विपद व्यवस्थापन परिषदको बैठक बस्ने पनि उनले जानकारी दिएका छन्।

 

असार २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्