गाउँपालिका कार्यालय सहयोगीद्वारा अधिकृतसँग १५ लाख फिरौती माग, नदिए हत्या गर्ने धम्की दिने पक्राउ

वीरगञ्ज – गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख फिरौती माग गर्ने एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादव छन्।

पक्राउ परेका यादवले जिल्लाको सुवर्ण गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई अपरिचित नम्बरबाट फोन गरी एक घण्टाभित्र १५ लाख रुपैयाँ दिन भनेका थिए।

उक्त रकम नदिए गोली हानी हत्या गर्नेसमेत यादवले अधिकृत श्रीवास्तवलाई धम्की दिएको प्रहरीले जनाएको छ।

फिरौती मागेको अडियोसहितको सूचनाबाट अनुसन्धान गर्दै जाँदा ती युवकलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

यादव सोही गाउँपालिकामा करार सेवामा कार्यालय सहयोगीको रूपमा कार्यरत रहेको उनले बताए। यादवलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको मिश्रले बताए।

 

असार २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्