विपदमा अवलाेकनका नाममा हुने भिआइपी भ्रमण

सिन्धुपाल्चोकको मेलम्चीमा इन्द्रावती नदीमा आएको बाढीले क्षति पुर्‍याएको केही घण्टापछि सभामुख अग्नि सापकोटा हेलिकप्टर चढेर अवलोकनका लागि पुगे। त्यसको केही घण्टापछि स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ पनि हेलिकप्टर लिएर मेलम्ची पुगे।

उनीहरु त्यहाँ पुग्दा स्थानीय बाढीबाट जोगिएका सामान बोकी अग्लो ठाउँमा बसेर डुबिरहेको आफ्नो घर हेरिरहेका थिए भने सेनाको टोली हेलिकप्टर मार्फत उद्धार कार्यमा लागेको थियो ।

सिन्धुपाल्चोक सभामुख सापकोटा र मन्त्री तामाङको गृहजिल्ला हो। सापकोटा सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य हुन् भने तामाङ क्षेत्र नम्बर २ बाट।

सापकोटाले हेलिकप्टरबाट झरेर डाडाँबाट डुब्दै गरेको मेलम्ची बजार हेरे। उनीभन्दा ढिला पुगेका मन्त्री तामाङले हेलिकप्टरबाटै पहिरो गएको हेलम्बुको भ्रातेकतेकको अवलोकन गरे र भिडियो खिचेर फर्किए । सापकोटा र तामाङले उद्धार र राहत कार्यलाई चुस्त बनाउन निर्देशन दिए ।

यस्तो अवलोकन भ्रमण यस पटक मात्र हैन, विपद्का हरेक ठूला घटनामा हुने गरेका छन्। गत बर्ष सिन्धुपाल्चोककै लिदीमा पहिरो गएपछि सभामुख सापकोटा अवलोकनमा पुगेका थिए। पहाडमा पहिरो जाँदा होस्, वा तराईमा बाढी जाँदा- गृहमन्त्री हेलिकप्टरबाटै अवलोकन गरेर फर्किएका उदाहरण थुप्रै छन्।

गत वर्ष सिन्धुपाल्चाेककाे लिदीमा गएकाे पहिरो निरीक्षण गर्न पुगेका सभामुख अग्नि सापकाेटा।

नेपालमा बाढी जाँदा होस् वा पहिरो- बहालवाला मन्त्री वा आफ्नो चुनावी क्षेत्रमा पर्ने भए नेताहरु पनि अवलोकनका लागि जाने गरेका छन् । वहालवाला मन्त्री त झनै हेलिकप्टर नै लिएर जान्छन् जुन कुरा आवश्यक नरहेको उद्धार कार्यमा खटिएका पूर्व अधिकारीहरु भन्छन् ।

उद्धार कार्यमा खटिइरहेका बेला भिआइपीको आवागमनले बाधा पुर्‍याउने सशस्त्रका पूर्व एआइजी नारायण बाबु थापा बताउँछन् ।

उनका अनुसार ‘उद्धारका कार्यका बेला मन्त्री तथा प्रधानमन्त्री आइदिए उद्धार सँगसँगै उहाँहरुको सुरक्षाको पनि ख्याल राख्नुपर्ने हुन्छ । विपद्‌मा आक्रोशित भिडले आक्रमण गर्नसक्ने सम्भावना हुन्छ ।’

लामो समय उद्धार कार्यको अनुभवी थापा विपद्कै समयमा भिआइपीको आगमनले उद्धार कार्यमा बाधा पुर्‍याउने बताउँछन् ।

‘विपद्‌मा परेकालाई ढाढस दिन उहाँहरु राहत बोकेर जानुहुन्छ । तर त्यो प्रभावकारी भन्दापनि प्रचारमुखी हुन्छ’, उनले भने ।

पूर्व सिडिओ मोदराज डोटेल हेलिकप्टरमा यसरी जानुको कुनै अर्थ नभएको बताउँछन् । उनी भन्छन्, ‘गए पनि त्यस्तो भ्रमण सार्थक हुनुपर्छ ।’

‘पीडितले राहत पाए त्यो निरीक्षणको अर्थ हुन्छ नत्र त त्यसको के अर्थ’, उनले भने । राहतको नाममा गरिने यस्ता भ्रमण सार्थक नरहेको उनको तर्क छ ।

‘विपद्को बेलामा राहत र उद्धारको काम प्रभावकारी बनाउनु पर्छ त्यो बाहेकका फजुल भ्रमण खर्च औचित्यपूर्ण हुँदैन’, उनले भने ।

हेलिकप्टर नै लिएर जाँदा खर्च धेरै हुन आउँछ । त्यसैले अवलोकनको नाममा हुने यस्ता भ्रमणको खर्च राहतमा लगाउनु उपयुक्त हुने विपद् विज्ञहरुको सल्लाह छ ।

 

असार २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्