जनकपुरमा कोभिड विशेष अस्पताल सञ्चालन

जनकपुरधाम– प्रदेश २ मा कोभिड विशेष अस्पताल सञ्चालनमा आएको छ। प्रदेशको राजधानी जनकपुरधामस्थित मणिपाल शिक्षण अस्पतालको भवनमा प्रदेश सरकारले एक सय शैयाको कोभिड विशेष अस्पताल संचालनमा ल्याएको हो।

जनकपुरधाम उपमहानगरपालिका मुजेलियास्थित शिक्षण अस्पतालको प्रयोगविहीन भवनमा बनेको कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे।

कोरोनाको पहिलो लहरकै समय कोभिड १९ विशेष अस्पताल बनाउने घोषणा गरेपनि अहिले आएर सञ्चालनमा आएको छ। अस्पताल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहत रहने जनाइएको छ।

अस्पतालको उदघाटन गर्दै मुख्यमन्त्री राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरुको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरु पनि छिट्टै सुरु गर्ने बताए।

मणिपाल शिक्षण अस्पताल सञ्चालन हुन नसकेकोले मणिपालसँगको लिज खारेजी गराइ उक्त जग्गा प्रतिष्ठान मातहत ल्याउने पहलसमेत सुरु भइसकेको मुख्यमन्त्री राउतले जानकारी दिए।

मुख्यमन्त्री राउतले कोभिड विशेष अस्पतालको भवनमा कोरोना संक्रमितको उपचार मात्र नभई अन्य विशेष सेवाहरु समेत चाँडै सुरु हुने बताए।

उद्घाटन कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारको गौरवको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमना दावी गरे।

असार ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्