मेलम्ची अपडेटः नदी बस्तीतर्फ सोझियो, नदीको पुरानो बाटो टापुमा परिणत (तस्बिरहरु)

मेलम्ची– बाढीका कारण तहसनहस भएको सिन्धुपाल्चोकको मेलम्चीमा नदीले बहाव नै परिवर्तन गरेको छ।

पहिले नदी बगिरहेको स्थान माटो, बालुवा र लेदो थुप्रिएर टापुमा परिणत भएको छ भने बस्ती रहेको ठाउँमा नदी बगिरहेको छ। जसका कारण उक्त क्षेत्र झनै जोखिममा परेको छ।

इन्द्रावती र मेलम्चीमा मंगलबार साँझदेखि आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। नदी अझै पनि सामान्य अवस्थामा फर्किएको छैन। जसका कारण स्थानीयमा त्रास थपिएको छ।

उक्त क्षेत्रमा कम्तिमा एक सय घर डुबानमा परेर क्षतिग्रस्त बनेका छन् भने सडक, पुल लगायत कैयौँ भौतिक संरचनाहरुमा क्षति पुगेको छ।

विस्थापित परिवारलाई स्थानीय विद्यालयमा राखिएको छ। माथिल्लो भेग भएको वर्षाका कारण नदीमा पानीको बहाव विहानको तुलनामा बढेको छ।

असार ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्