किन आउँदैछ लेदो र ग्रेगानसहितको बाढी?

मेलम्ची खोलामा आएको लेदोसहितको बाढीले मेलम्ची बजार क्षेत्र अधिकांश रुपले प्रभावित भएको छ । तस्बिर : बर्षा शाह/देश सञ्चार (फाइल तस्बिर)

काठमाडौँ– बर्खामा बाढी तथा पहिरोको जोखिम सामान्य हो र त्यसकै लागि जोखिम न्यूनिकरण तथा प्रतिकार्य योजना बनाएर पूर्व तयारी गरिन्छ।

तर नेपालमा हरेक वर्ष बाढी तथा पहिरोले ठूलो धनजनको क्षति गर्छ, क्षति हुन थालेपछि सरकारी संचना परिचालन गर्ने निर्णय हुन्छ। पूर्व तयारी र सावधानीका कुरा उठ्छन्, बर्खा सकिएसँगै सेलाउँछन् अर्को विपद नआउँदासम्म।

लगातारको वर्षाले खोलानालामा बाढी तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च बनाउनु स्वभाविक हो। तर पछिल्ला केही वर्षयता बर्खामा आउने बाढीको स्वरुप केही फेरिएको देखिन्छ। माथिल्लो पहाड तथा हिमाली जिल्लाहरुसँगै तल्लो पहाडका क्षेत्रमा लेदो तथा गेग्रानसहितको बाढी आउने क्रम हरेक वर्ष बढ्दो क्रममा देखिने गरेको छ।

यो वर्ष मनसुन सुरु भएसँगै देशभर सक्रिय बनेको छ। सिन्धुपाल्चोक, मनाङसहितका जिल्लाहरुमा बाढी तथा पहिरोले धनजनको क्षति गरेको छ। मनसुन अवधिमा औषतभन्दा बढि वर्षा हुने पूर्वानुमान रहेकाले विपत्तिको सुरुवातका रुपमा मात्रै हालका घटनालाई लिनुपर्ने र पूर्व तयारी तथा सावधानी सोहीअनुसार अपनाउनु पर्ने सुझाव विज्ञको छ।

मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले नियमित रुपमा जारी गर्ने बुलेटिनहरुमा सर्वसाधारणलाई सचेत गराइएको छ । यस्ता बुलेटिनहरुमा लेदो तथा गेग्रानसहितको बाढी आउन सक्ने चेतावनी छुटेका छैनन् ।

आखिर किन आइरहेको छ त लेदो तथा गेग्रानसहितको बाढी? पानी मात्रै उर्लेर आउने बाढी र लेदो तथा गेग्रानसहित आउने बाढीले गर्ने असर कस्तो रहन्छ?

लेदो तथा गेग्रानसहितको बाढी

बाढीले क्षतिग्रस्त भएकाे मेलम्ची क्षेत्र । तस्बिर : बर्षा शाह/देश सञ्चार

मनाङको चामेसहितका क्षेत्र तथा सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा पछिल्लोपटक आएका बाढीहरु लेदो तथा गेग्रानसहितका छन् । यी बाढीले विगतको तुलनामा क्षति पनि बढी गरेको देखिएको छ, तर क्षतिको यकिन विवरण आउन भने अझै केही समय लाग्ने स्थानीय अधिकारीहरुले बताएका छन्।

भौगर्भिक प्रकोप विज्ञ श्रीकमल द्विवेदीका अनुसार पानी मात्रै भन्दा लेदो तथा गेग्रानसहित आउने बाढीले गर्ने क्षति बढी हुन्छ। द्विवेदीले भने, ‘पानीसँगै लेदो र गेग्रान मिसिएर आएको बाढीको गति तुलनात्मक रुममा बढी हुन्छ । यस्तै यस्तो बाढीले ओगट्ने क्षेत्र पनि फराकिलो हुने भएकाले क्षतिको जोखिम बढाउँछ ।’

मनाङमा बाढीले पुल बगाएपछि अस्थायी पुल राखेर स्थानीयको उद्धार गर्दै सुरक्षाकर्मी।

पानी मात्रै बग्दा खोलालाई चाहिने ठाउँभन्दा गेग्रानसहितको बाढी आउँदा बढी चाहिन्छ। उनले भने, ‘लेदो तथा गेग्रानले खोला पुर्ने वा तलको भाग ओगट्ने हुँदा पानीको सतह माथि आउँछ र ठूलो क्षेत्रमा फैलिन्छ।’

लेदोसहितको बाढी आउँदा खोला बांगिएको ठाउँबाट पनि सीधै बग्ने र बस्तीमा पस्ने तथा क्षति गर्ने सम्भावना बढी हुने उनले बताए । लेदो तथा गेग्रानसहितको बाढी आउँदा खोलाको गति तथा घनत्व पनि बढी हुने उनले बताएका छन् । अहिले मनाङ तथा सिन्धुपाल्चोकमा आएको बाढी तथा त्यसले गरेको क्षति धेरै हुनुको कारण पनि यही हुन सक्ने विज्ञले बताए ।

भूगर्भविद बसन्तराज अधिकारीका अनुसार विशेष गरी सिन्धुपाल्चोकमा अहिले आएको बाढी हेर्दा माथिल्लो क्षेत्रबाट नदीले सोहोरेर ल्याएको गेग्रान, माटोसहितको लेदो देखिएको छ। त्यसले तल्लो तटीय क्षेत्र तथा नदी आसपासको क्षेत्रलाई मडार्ने र पुर्ने गरेको उनले बताए ।

किन आइरहेको छ त लेदो तथा गेग्रानसहितको बाढी?

ललितपुरस्थित बागमती करिडोरमा नदीको बगर क्षेत्र मिचेर संरचना बनाइएका छन् । यसरी खोलाको सम्पतीको रुपमा रहेको बगर मिच्नु विपद निम्त्याउनु रहेको विज्ञले बताएका छन् । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

लेदो तथा गेग्रानसहितको बाढी आउनुमा फेरिँदै गएको भौगोलिक संरचना, पानीको मात्रा तथा विकास वा अरु प्रयोजनका नाममा भइरहेका अनियन्त्रियत गतिविधि कारक रहेको भूगर्भविद अधिकारीले बताए ।

उनले भने, ‘सिन्धुपाल्चोकको हकमा भूकम्पले धाँजा पारेको पहाडको संरचना कमजोर छ । पानी परेपछि पहिरो वा माटो तथा ढुंगाहरु खस्ने जोखिम बढी हुन्छ । त्यसमाथि बाटो बनाउने क्रममा खनिएका क्षेत्रहरुले पनि जोखिम बढाएका छन् । अहिले सिन्धुपाल्चोकमा लेदो तथा गेग्रानसहितको बाढी आउनुमा मुख्य कारक भूकम्प र मानवीय गतिविधि नै हुन् ।’

भौगर्भिक प्रकोप विज्ञ द्विवेदीका अनुसार मोटरबाटो बनाउने क्रममा भिरालो काट्दा निस्केको माटो तथा गेग्रानहरु त्यस्तै छोड्ने गरिएकाले बर्खायाममा पानीसँगै बगेर खोल्साहरु हुँदै तल्लो क्षेत्रमा ठूलो भेलबाढीका रुपमा जान्छन् ।

उनले भने, ‘पहिरोका रुपमा गएर सानो खोल्सा थुनिन्छ । पानीको चाप बढ्दै जाँदा ती सबै बढेर ठूलो भेलबाढी जान्छ ।’

सिन्धुपाल्चोकसहितका पहाडी तथा मध्य पहाडी क्षेत्रमा लेदो तथा गेग्रानसहितको बाढी आउनुमा मानवीयसँगै पहिरोले थुनिएको नदी फुट्नु कारक रहे पनि उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा भने अर्को प्रमुख कारण छ जलवायु परिवर्तन ।

हिमताल र हिमाली क्षेत्रको भौगर्भिक विपदबारेका अध्येता द्विवेदीका अनुसार मनाङसहितका जिल्लामा गेग्रानसहितको बाढी आउनुमा परिवर्तित मौसमी प्रणाली पनि कारक हो ।

उनले भने, ‘उच्च पहाड तथा हिमाली क्षेत्रमा पनि अचेल मध्य पहाडमा जस्तै ठूलो पानी पर्न थालेको छ । यसले त्यहाँको कमजोर भौगोलिक संचनालाई एकैटोली ठूलो मात्रामा बगाउँदा भेलबाढी (गेग्रानसहित) आउन थालेको देखिन्छ ।’

जमिनलाई हिउँले ढाक्ने र बिस्तारै हिउँ पग्लिँदै जाँदा हुने भूस्खलन तुलनात्मक रुपमा सानो मात्राको हुने गर्छ। तर अहिले हिउँ कम पर्ने तथा हिउँले सोहोरेर ल्याएका गेग्रान तथा माटोहरुलाई बर्खामा पर्न थालेका ठूलो पानीले एकसाथ बगाउँदा हाल मनाङसहितका जिल्लामा आएको जस्तो लेदोयुक्त बाढी आउने गरेको विज्ञले बताए ।

जोखिम कम गर्न के गर्न सकिन्छ?

तस्बिर : बर्षा शाह/देश सञ्चार

पहिरो गएर नदी थुनिएपछि बनेको अस्थायी बाँध फुट्दा आउन सक्ने लेदो तथा गेग्रानसहितको बाढी भवितव्य भयो । त्यसका लागि सावधानी अपनाउने, पूर्व तयारी गर्ने तथा प्रतिकार्य योजना अनुसार तत्काल उद्धार तथा राहतको काम गर्नुको विकल्प छैन । तर मानवीय कारणले उत्पन्न हुने विपदलाई भने कम गर्न वा रोक्न सकिन्छ ।

बाटो बनाउँदा निस्कने माटो तथा गेग्रानको उचित व्यवस्थापन गर्ने तथा पानीको निकासका लागि कुलेसो वा नाली बनाउन सकिने भूगर्भविद बसन्तराज अधिकारीले बताए । यस्तै भौगर्भिक अध्ययन अनुसार उपयुक्त हुने खालका संरचनाको निर्माण र विकासका काम पनि वैज्ञानिक अध्ययनबाट मात्रै गर्नु पर्ने उनले बताए । यस्तै नदी आसपासका क्षेत्रहरुका बस्त जोगाउनका लागि गेग्रानसहितको बाढी रोक्न सक्ने तटबन्ध निर्माण गर्न सकिने पनि विज्ञको भनाइ छ ।

तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

पछिल्ला वर्षहरुमा मानिसले खोलाको सम्पत्तिका रुपमा रहेको बगरलाई अतिक्रमण गर्ने क्रम बढ्दा पनि जोखिम र क्षति बढेको द्विवेदीले बताए । उनले भने, ‘खोलाको बहाव मार्ग बगर खोलाकै सम्पत्ति हो । ठूलो पानी परेपछि खोला बगर हुँदै बग्छ । तर हामीले धेरै ठाउँमा बगर राखेका छैनौँ । खोलाको भागलाई मात्रै छोडेर संरचना बनाएका छौँ ।’

बगर क्षेत्रमा खेतीपाती गर्न सकिने तर स्थायी संरचना भने बनाउन नहुने उनले बताए । नदीको बहाव मार्ग साँघुरो बनाउँदै जाँदा लेदो तथा गेग्रानसहितको बाढीले आँकलन भन्दा ठूलो क्षति गर्ने सम्भावना रहन्छ ।

यस्तै बाढीको कुरा गर्दा पानी मात्रै नभएर त्यसँगै बगेर आउने गेग्रानको पनि हिसाब गरिनु पर्ने द्विवेदी र अधिकारीको भनाइ छ । गेग्रानसहितको बाढी धेरै विनासकारी हुने हुँदा खोलामाथि पुलहरु बनाउँदा त्यहि अनुसार अहिले बनाइएका भन्दा अग्ला र चाप थेग्न सक्ने बनाइनु पर्ने विज्ञले सुझाव दिएका छन्।

असार ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्