‘एक वर्षभित्र सुरक्षित साइबर स्पेस निर्माण गर’

काठमाडौँ – सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल गरी ३ वटा संस्थाले संयुक्त रूपमा एक वर्षभित्रै सुरक्षित एवं लचिलो साइबरस्पेस निर्माणका लागि कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।

त्यसका लागि ६ महिनाभित्र संस्थागत र संगठनात्मक पूर्वाधार स्थापना गर्न भनिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ १४ गते सार्वजनिक गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०७८ को मस्यौदामा आफ्नो राय दिँदै ३ वटा संस्थाले साइबर सुरक्षाजस्तो संवेदनशील विषयमा जतिसक्दो चाँडो कानुन र संस्थागत संरचना निर्माण गर्न आग्रह गरेको हो।

नीतिको मस्यौदामा सुरक्षित साइबरस्पेस निर्माणका लागि तीन वर्ष र त्यसका लागि संस्थागत तथा संगठनात्मक पूर्वाधार निर्माणका लागि पाँच वर्षको समय प्रस्ताव गरिएको छ।

त्यसैगरी, नीति कार्यान्वयनका लागि एक वर्ष प्रस्ताव गरिएकामा त्यसलाई ३ महिनामा झार्न सुझाइएको छ।

तीन वटा संस्थाको प्रतिनिधिमण्डलले असार ३ गते सञ्चार तथा सूचना मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई लिखित रूपमा सुझाव हस्तान्तरण गरेको छ।

नीतिमाथि मन्त्रालयले माग गरेको सुझाव तथा पृष्ठपोषणका लागि सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ एवं व्यवसायी तथा क्यान महासंघका विषयगत सदस्य संस्था सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल सहितको प्रतिनिधिमण्डलले संयुक्त रूपमा राय दिएको हो।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरको नेतृत्वमा क्यान महासंघका निवर्तमान अध्यक्ष हेमन्तकुमार चौरासिया, महासचिव नारायण थापा, कार्यसमिति सदस्य सुभास खड्का, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसनका अध्यक्ष प्राडा सुवर्ण शाक्य, उपाध्यक्ष रोजा किरण वासुकला, महासचिव ई शालिकग्राम पराजुली, कार्यसमिति सदस्य गंगा भण्डारी, इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष चिरञ्जीवी अधिकारी, कार्यसमिति सदस्य सुरेश भण्डारीसहितको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बस्याललाई भेटी साइबर अपराध एवम् सूचना तथा सञ्चार प्रविधिको आपराधिक दुरुपयोगविरुद्ध तथा साइबर सुरक्षा सबलीकरण गर्नका लागि संघका साथै प्रादेशिकस्तरमा समेत कानुन निर्माण गर्न पनि सुझाएको छ।

नागरिकका संवेदनशील तथ्यांक संकलन, प्रशोधन, प्रयोग तथा भण्डारण गर्ने निजी तथा सार्वजनिक निकायको संस्थागत सुरक्षा नीतिको आवधिक परीक्षण गर्न र नागरिकको अनलाइन पहिचानको डाटा सुरक्षा, डाटा गभर्नेन्स र वैयक्तिक गोपनीयकताका लाागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवा प्रदायकसँग डाटा आदानप्रदान गर्न पूर्वाधार निर्माण गर्न र साइबर बिमासम्बन्धी कानुन बनाउन पनि आग्रह गरिएको छ।

साइबर सुरक्षा प्राविधिक विषय मात्र नभई राजनीतिक, सामाजिक तथा आर्थिक विषयसमेत भएकाले यसलाई सबै पक्षबाट सम्बोधन हुने गरी साइबर सुरक्षा निर्देशिका बनाउन, जोखिम इन्टेलिजेन्स रिपोर्टिङ र साइबर हेल्प डेस्कसहितको सेक्युरिटी अपरेसन सेन्टर निर्माण गर्न र साइबर सुरक्षाबारे सूचना आदानप्रदानका लागि डिजिटल ब्लकचेनसमेतको डिजिटल पूर्वाधार विकास गर्न पनि आग्रह गरिएको छ।

कुल २३ बुँदामा नीतिको मस्यौदामा सुझाव र ३४ बुदामा थप व्यवस्थाका लागि राय दिँदै सरकारी, गैरसरकारी निकाय तथा निजी क्षेत्रका संघसंस्थाले डिजिटल हस्ताक्षरलाई सर्वसुलभ वा निःशुल्क बनाई अनिवार्य प्रयोग गर्नुपर्ने बताइएको छ।

त्यसैगरी, ग्लोबल साइबर सेक्युरिटीमा नेपालको स्तरोन्नति गर्ने, साइबर सुरक्षासम्बन्धी नियमित अध्ययन, अनुसन्धान तथा नवप्रवर्तन गर्ने, राष्ट्रिय साइबर सेक्युरिटी फ्रेमवर्क तयार गर्ने, साइबर सुरक्षा गुरुयोजना तयार गर्ने, प्रत्येक विश्वविद्यालयमा साइबर सुरक्षा अनुसन्धान केन्द्र स्थापना गर्ने र साइबर सुरक्षासम्बन्धी विश्वव्यापी जोखिमलाई न्यूनीकरण गर्न स्थानीय सम्बन्ध विकास गर्ने र विश्वव्यापी गठबन्धनमा आबद्ध हुनेजस्ता नयाँ बुँदा नीतिमा थप्न सुझाव दिएको छ।

इथिकल ह्याकरलाई प्रोत्साहन गर्ने र सुरक्षा व्यवस्थापन, घटना सम्बोधन, जोखिमको पहिचान तथा कमजोरीको समीक्षाका लागि एउटा कार्यसमूह गठन गर्न पनि प्रतिनिधिमण्डलले आग्रह गरेको छ।

असार ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्