गाँजा कारोबारमा सुरक्षाकर्मीको संलग्नता, ३ जना पक्राउ

मोरङ – विराटनगरमा सुरक्षा निकायकै संलग्नतामा लागुऔषध गाँजा कारोबार हुने गरेको पाइएको छ।

विराटनगर–६ स्थित ब्रह्मपुरामा एक घरमा प्रहरीले शुक्रबार छापा मारेपछि सार्वजनिक भएको हो।

भारततर्फ निर्यात गराउन भण्डारण गरी राखिएको १८ किलो गाँजा प्रहरीले बरामद गरेको हो।

प्रहरीले गाँजा कारोबारमा संलग्न एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरे पनि विवरण यकिन गराएको छैन।
यसअघि बिहीबार विराटनगरबाट प्रहरीले गाँजा कारोबार गर्ने गिरोहमा संलग्न तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा भारतीय नागरिक सोनु यादव, धनकुटा घर भएका रुद्र राई र सुनसरी देवानगञ्जका रञ्जितकुमार यादव छन्।
गाँजाको सेवनकर्ता रहेको आशंकामा पक्राउ गरिएकाहरूमाथि अनुसन्धान अघि बढाउँदा उनीहरू यसको कारोबारमा संलग्न रहेको खुलेको हो।

प्रहरी हिरासतमा रहेका रञ्जितले गाँजा कारोबारका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको खुलेको छ।
प्रहरी स्रोतका अनुसार धनकुटाको छिन्ताङबाट भारतीय कारोबारीसँग सम्पर्क गर्दै र नेपालमा सुरक्षाकर्मीसँग मिलेमतोमा गाँजा भारततर्फ लैजानेमा रञ्जितको संलग्नता देखिएको हो।

प्रहरीका एक अनुसन्धान अधिकृतले धनकुटाका चन्द्र र भारतीय नागरिक सोनुसँग सम्पर्कमा रहेर रञ्जितले गाँजा कारोबारको मध्यस्थता गर्ने गरेको पाइएको छ। सोही कारण पनि धनकुटामा उत्पादन हुने गाँजा विराटनगर ल्याएर भण्डारण गर्ने र सीमानाका हुँदै भारततर्फ लैजाने गरिएको खुलेको हो।

शुक्रबार बरामद भएको १८ किलो गाँजा भण्डारण गरिएको घर नखुलाउनु, पक्राउ परेकाको विवरण सार्वजनिक नगरिकनुले सीमामा कार्यरत सशस्त्र र नेपाल प्रहरीको मिलेमतो रहेको आशंका गरिएको हो।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको बताए।

असार ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्