लगातारको वर्षासँगै सुदूरपश्चिमका पहाडी जिल्लाका ग्रामीण सडक बन्द

धनगढी – लगातारको वर्षासँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका ग्रामीण सडकहरु बन्द भएका छन्। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो आई सडक बन्द हुँदा ग्रामीण क्षेत्रकाे यातायात सेवा अवरुद्ध भएको छ।

सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम, डोटी, बैतडी, दार्चुला र डडेल्धुरा जिल्लाका अधिकांश ग्रामीण सडकहरु बन्द भएका स्थानीयले बताएका छन्।

ग्रामीण सडक बन्द भएपछि अहिले गाउँघरमा दैनिक उपभोग्य बस्तु लगायत अन्य सामग्रीको मूल्य बढेको छ।

‘यसअघि कच्ची सडकमा जताततै गाँउका कुना कन्दरामा पनि जिपहरु पुग्दथे’ बझाङको तलकोटकी करिस्मा बिकले भनिन्,‘अहिले बाटो बन्द हुँदा बिरामी बोक्न समेत समस्या भएको छ।’

बझाङमा हिउँदको सिजनमा सेती नदीमा अस्थाई पुल हालेर नदी पारिका गाउँपालिकाहरुमा यातायातका साधनहरु चल्नुका साथै अन्य स्थानमा पनि जिपहरु गुड्ने गरेका भए पनि अहिले बन्द छ।

जिल्लामा अहिले मुल सडक जयपृथ्वी राजमार्गमा मात्र यातायातका साधनहरु चल्ने गरेका छन्। यसै सडकमा पनि ठाउँ ठाउँमा पहिराे आइरहेकाले खुल्ने र बन्द हुने क्रम जारी छ। ग्रामीण भेगका सडकहरु वर्षातका कारण खोला नाला, पहिरो आई हिलाम्मे भएर अवरुद्ध भएपछि जिल्लाका दश वटा स्थानीय तहहरुको केन्द्रमा हिँडेर जानु पर्ने अवस्था छ।

गाउँ जाने सडकमा यातायतको सेवा सुविधा हिउँदका चार पाँच महिना मात्रै हुन्छ ।

गाउँ घर जाने सडकहरु बन्द भएका सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले बताए। हिउँदमा सेती नदीको पानी घटेपछि अस्थायी रुपमा काठेपुल हालेर सेती पारिका स्थानीय तह थलारा गाउँपालिका , खप्तड छान्ना गाउँपालिका , मष्टा गाउँपालिका र तल्कोट गाउँपालिकामा यातायातको सुविधा भए पनि अहिले त्यहाँ पनि पूर्ण रुपमा सडकहरु बन्द भएका छन्।

यस्तै बाजुरा जिल्लाका सबै ग्रामीण सडकहरु लगातारको वर्षाका कारण बन्द भएका छन्। सदरमुकाम मार्तडीबाट कोल्टी जाने सडक, खप्तड छेडेदह गाउँपालिका जाने सडकका साथै त्रिवेणी नगरपालिका जोडने सडक पनि बर्षातका कारण बन्द भएका छन्।

‘सदरमुकाम जोडने मुख्य सडक समेत ठाउँ ठाउँमा पहिरो जाँदा पटक पटक अवरुद्ध हुने गरेको छ’, खप्तड छेदेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले भने, ‘वर्षासँगै ठाउँ ठाउँमा पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक पूर्णतया अवरुद्ध बनेका छन्।’

अछाम जिल्लाका अधिकांश ग्रामीण सडक पनि पहिरोका कारण अवरुद्ध बनेका साँफेबगर नगरपालिकाका शिक्षक रमानन्द जोशीले बताए। उनले भने–‘लगातारको वर्षासँगै ठाउँ ठाउँमा पहिरो जाँदा ग्रामीण सडकहरु बन्द भएका छन्, मुख्य सडक सम्म पुग्न दुई तिन दिन सम्म हिँड्नु पर्ने अवस्था छ।’

असारको पहिलो सातामै बन्द भएका ग्रामिण सडकहरु अब कात्तिक भन्दा यता खुल्ने अवस्था छैन। बाजुरा, बझाङ, अछाम लगायतका जिल्लामा मुख्य सडक पनि नदीको छेउमै रहेकाले कटानको उच्च जोखिममा रहेका छन्।

असार ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्