खेलकुद मन्त्री मियाँ भन्छन्ः खेलकुद मन्त्रालयलाई अरु मन्त्रालयभन्दा राम्रो बनाउन चाहेको छु

काठमाडाैँ– युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले खेल क्षेत्रको विकासको लागि खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग सुझाव मागेका छन्।

शनिबार ओलम्पिक डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले आफूले युवा तथा खेलकुद मन्त्रालय अन्य मन्त्रालयभन्दा राम्रो बनाउन चाहेको भन्दै सरोकारवालासँग सल्लाह, सुझाव माग गरे।

आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनको लागि भएको भन्दै त्यसका निम्ति खेल क्षेत्रका व्यक्तिहरुको सुझाव र सहयोग आवश्यक रहेको उनले बताए।

उनले राष्ट्रिय खेलकुद परिषद्को नियमावली छिट्टै बनाउनको लागि टिम बनाउने पनि बताए।

उनले भने, ‘मन्त्रालयलाई राम्रो कसरी बनाउन सकिन्छ त्यसमा मेरो बढी ध्यानाकर्षण भएको छ। खेल क्षेत्रको विकासका लागि राय, सल्लाह, सुझाव दिनुस्। राष्ट्रिय खेलकुद परिषद्को ऐन आइसकेको छ। अब नियमावली पनि बनाउने म चाँडै टिम तयार पार्दैछु। कानुन विज्ञ, खेलका विज्ञहरुलाई ड्राफ्ट उपलब्ध गराउँछु। त्यसमा के थपेर जाँदा हुन्छ छलफल गरौँ। अझ राम्रो कसरी गर्न सकिन्छ, त्यसमा राय–सुझाव पाउँ।’

यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वव्यापी रुपमा भातृत्व र मित्रता बढाएको बताए। खेलले शान्ति र विकासको कुरा अगाडि बढाइरहेको पनि उनले बताए। ओलम्पियनहरु धेरै मानिसहरुको प्रेरणाको स्रोत भएको पनि उनको भनाइ छ।

असार ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्