विराटनगर महानगरपालिकाद्वारा अन्तर्राष्ट्रिय निकायसँग सहयोग माग

मोरङ – विराटनगर महानगरपालिकाले विद्यमान स्वास्थ्य समस्या निराकरणका लागि अन्तर्राष्ट्रिय निकायसँग सहयोग माग गरेको छ।

संघीय र केन्द्र सरकारले कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि खोप, स्वास्थ्य सामग्रीलगायत कम अनुपातमा उपलब्ध गराएको जनाउँदै महानगरपालिकाले भगिनी सम्बन्ध कायम भएको सहर र विभिन्न अन्तर्राष्ट्रिय संस्थासमक्ष माग गर्ने जनाएको हो।

विराटनगरका पत्रकारसँग जुम छलफलका क्रममा शनिबार महानगरपालिकाका मेयर भीम पराजुलीले सरकारले स्थानीय तहमा जनघनत्वअनुसार खोप, स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्दा समस्या भएको गुनासो गरेका छन्।

उनले भने, ‘खोप खरिदका लागि संघीय सरकारको अनुमति आवश्यक हुने हुँदा खरिद प्रक्रियामा अघि बढ्न सकिएको छैन। सरकारले उपलब्ध गराएको खोप पनि अपुग छ। जनगुनासो बढ्दो छ। जसकारण खोप भित्र्याउन सरकारले अनुमति दिनु आवश्यक भएको छ।’

सोही क्रममा मेयर पराजुलीले विदेशबाट स्वास्थ्य सामग्री भित्र्याउन प्रक्रियागत झन्झट रहेकामा त्यसलाई प्रक्रिया खुकुलो बनाउनसमेत सरकारलाई आग्रह गरे।

महानगरपालिकाले स्वास्थ्य सहयोगका लागि चीनको उहान र उहुँ सहर, हेल्भेटास, कोरियाको कोइका तथा सिटिनेट सियोल, डिएफआइडी, युएसएआइडी, युएनडिपी, जाइका तथा सिटिनेट डिआरआर अफिस योकोहामा, करुणा फाउन्डेसन नेपाल, रोटरी क्लब इन्टरनेसनल, भारत र जर्मनीका दूतावासमाझ सहयोगको अपिल गरेको छ।

महानगर प्रमुख पराजुलीले उल्लिखित निकायबाट महामारीसँग जुध्न अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, भिटिएम, एन्टिजेन किट, अक्सिमिटरसहित कोरोनाको खोपको प्रबन्धका लागि आग्रह गरिएको जानकारी दिए।

महानगरमा पछिल्लो पाँच दिनको आँकडाअनुसार कोरोना संक्रमितको संख्या घट्दो छ।

दैनिक औसत ७० जना संक्रमित यथावत् रहेको जनाएको महानगरले कोरोनाको तेस्रो लहरका लागि तयारी अवस्थामा रहन स्वास्थ्य सामग्रीमा जोड दिएको जनाएको छ।

 

असार ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्