बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना संक्रमितको मृत्यु

मोरङ – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार मोरङ सुन्दरहरैंचा नगरपालिका र सुनसरीको धरान उपमहानगरपालिकाका दुई जनाको शनिबार मृत्यु भएको हो।

सहप्रवक्ता डा. पोखरेलले सुन्दरहरैंचा नगरपालिकाका ९९ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार बिहान करिब ६ बजेर २० मिनेटमा मृत्यु भएको बताए।

प्रोस्टेटसम्बन्धी समस्याबाट पीडित वृद्धमा असार १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। वृद्धलाई परिवारले सोही दिन थप उपचारका लागि प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गराएका थिए।

यद्यपि, उपचार जारी रहेको अवस्थामा करिब ४ दिनपछि वृद्धको मृत्यु भएको हो। त्यसैगरी, धरान उपमहानगरपालिका ११ का ६६ वर्षीय पुरुषको पनि शनिबार बिहान मृत्यु भएको छ।

उच्च रक्तचापबाट पीडित पुरुषमा असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। बिरामी पुरुषलाई समेत सोही दिन थप उपचारका लागि परिवारले प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गराएका थिए।

प्रतिष्ठानका अनुसार हालसम्म प्रतिष्ठानमा कोरोना संक्रमणबाट २ सय ३४ जनाको मृत्यु भएको छ।

असार ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्