विराटनगर सिटी फुटबल क्लब र भुटानको पारो फुटबल क्लबबीच सम्झौता

मोरङ– विराटनगर सिटी फुटबल क्लब (बिसिएफसी)ले पहिलो पटक अन्तर्राष्ट्रिय क्लबसँग सहकार्यका लागि सम्झौता गरेको छ।

क्लबका प्रमुख कार्यकारी अधिकृत सुभाशिष कोइरालाका अनुसार फुटबलको विकासका लागि भुटानको पारो फुटबल क्लबसँग एकवर्षका लागि सहकार्यको सम्झौता गरिएको हो।

कोइरालाले कोरोना महामारीसँगै ठप्प रहेको फुटबललाई गति दिनका लागि पारो एफसीसँगको सम्झौता महत्वपूर्ण हुने बताए। यसक्रममा दुवै टोलीबीच खेलाडीको स्तरोन्नती, प्रशिक्षण, लोनमा खेलाडी आदानप्रदान, प्रशिक्षकसँगको सहकार्य, तथा प्राविधिक पक्षमा जोडिएर कार्य हुने उनले जानकारी दिए।

एक वर्षसम्म दुवै पक्षबाट हुने सकारात्मक गतिविधिलाई मध्यनजर गर्दै सम्झौता थप अघि बढाउन सकिने उनको भनाइ छ। यसबीच दुवै क्लबले युवा खेलाडीलाई प्राथमिकतामा राखेर अवसर दिने सहमति जनाएका छन्।

व्यवसायिक रुपमा फुटबललाई विकास गराउनु पर्ने अवधारणासहित नेपाल सुपर लिगमा सहभागिता जनाएको विराटनगरले दुवै क्लबबीच मैत्रीपूर्ण खेलमा समेत जोड दिने कोइरालाले जानकारी दिए। कोभिडका कारण क्लबका कार्यकारी अधिकृत कोइराला र पारो एफसीबाट अध्यक्ष कर्मा जिग्मेबीच अनलाइनबाट शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

विसिएफसी नेपाल सुपर लिगको पहिलो संस्करणमा पाँचौ स्थानमा रहेको थियो। लिगमा क्लबले ६ खेलमा २ मा जित, १ मा बराबरी र ३ मा हार व्यहोरेको थियो।

असार ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्