अझै उद्धार भएन प्रसव व्यथा लागेकी गर्भवतीको

सिमकोट – सुत्केरी व्यथा लागेकी गर्भवतीको छैटौं दिनसम्म पनि उद्धार हुन सकेको छैन। लगातार पानी परिरहेका कारण सुर्खेतबाट सेनाको हेलिकप्टरले उडान भर्न नसक्दा गर्भवती महिलाको उद्धार हुन नसकेको हो।

अस्पतालले ६ दिनअगाडि जिल्लाबाहिर रिफर गरे पनि उद्धार हुन नसकेको गर्भवती महिलाका श्रीमान् जितेन्द्र रावतले बताए।

दैनिक बिहानबाटै हेलिकप्टर आउने आशा गरे पनि मौसमका कारण बेलुकासम्म नआएपछि आशा मरेको उनले बताए।

बिहानबाटै सुर्खेतबाट हेलिकप्टर बोलाउने कार्य गरे पनि लगातारको वर्षाका कारण सम्भव हुन नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख मोहन गिरीले बताए।

अस्पतालले ६ दिनअगाडि जिल्लामा अप्रेसन गर्न सम्भव नहुने भएपछि जिल्लाबाहिर रिफर गरेको अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताइन्। अस्पतालको सिफारिस आएर राष्ट्रपति महिला उत्थान कार्यक्रमसँग समन्य गरेर उद्धारका लागि सेनाको हेलिकप्टरको व्यवस्था भए पनि लगातार वर्षा भइरहेका कारण हेलिकोप्टर उड्न सक्ने अवस्था नरहेकाले उद्धार हुन नसकेको उनले बताइन्।

सिमकोट गाउँपालिका–६ की २७ वर्षकी जगतमाया रोकायालाई व्यथा लागेको र अस्पतालको प्रसूतिगृहमा उपचार गर्दा रगत जम्ने, गर्भवतीको पाठेघरमा पानीको मात्रा नहुँदा त्यसको अप्रेसन जिल्लामा गर्न नसकिने भएपछि जिल्लाबाहिर रिफर गरिएको थियो।

अवस्था जटिल भएका कारण बाहिर रिफर गरिएको हो। लामो समय भएका कारण बच्चालाई अप्ठ्यारो हुन सक्ने अस्पतालले जनाएको छ।

उनलाई चिकित्सकले असार २७ गते गर्भवती हुने दिन तोकेको छ।

असार ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्