हेलम्बु डेडलाइन

मेलम्ची बाढीको वितण्डाः छोरो बेपत्ता, परिवारको मन्दिरमा बास (भिडिओ सहित)

हेलम्बु – कालो बादल मडारिँदै आयो। एकै छिनअघि रोकिएको पानीले आफ्नो गति लिन थाल्यो। यसको बेग कहिले सुस्त थियो। कहिले डरलाग्दो। शनिबार अँध्यारो छाउँदै गर्दा किउल, कविकुञ्ज हेलम्बु–२ सिन्धुपाल्चोकबासी डरले थरथर कापे।

निरन्तर सडक र गाउँ काट्न नछाडेको मेलम्ची नदीको बाढी बेजोडले सुस्साउन थाल्यो। यसको विद्रोही आवाज बढेसँगै स्थानीयको भागाभाग सुरु भयो।

बाढीका कारण पाँच दिनदेखि सडक सञ्जाल र सञ्चारबाट पूर्णरूपमा विच्छेद स्थानीय आफ्ना लत्ताकपडासहित हस्याङफस्याङ गर्दै उकालो लागे।

कोही छिमेकीकोमा पाउना लागे, बास मागे। विरक्तिएका स्थानीय ६३ वर्षीय बाबुराम भण्डारी, उनकी पत्नी रीता र उनको परिवार नजिकैको राधाकृष्ण मन्दिरतिर हताहतार लाग्यो। मन्दिरसँग जोडिएको खुला टिनको टहरोमा गएर नदीझँै उनीहरू सुस्साए। उनीहरूका आँखा त्यही विद्रुप रूप देखाइरहेको नदीतिरै सोझिए। जीवनमा कहिल्यै कल्पना नगरेको मेलम्ची बाढीले भण्डारीकै आँखाअगाडि आफ्ना ३१ वर्षीय कान्छा छोरा माधवलाई बगायो, असार १ गते । उनी जिउँदै छन् या बाँचे त्यसको स्पष्ट खबर भण्डारीले पाउन सकेका छैनन्।

बाढीले उनको ६ रोपनी खेत बगरमा परिणत गरिदियो। घट्ट, मिल, गोठ आफ्नै आँखाअगाडि गल्र्यामगुर्लुम भयो, एकपछि अर्को गर्दै। बाढीले सम्भवतः आजै राति उनको घर पनि ढाल्ने निश्चित छ।

यो सबैको साक्षी बन्नुबाहेक उनीहरू अर्को हैसियतमा छैनन् अब। भण्डारीका छोरा माधव असार १ गते साँझ करिब सात बजे गोठमा काम गर्दै थिए।

आफ्नो खेतसँगै जोडिएको मेलम्चीको पानी धमिलिँदै आयो। एकैछिनमा त्यो लेदोमा परिणत भयो। छिमेकी गणेश ज्योतिको ट्राउट फार्ममा पनि लेदो आउन थाल्यो।

माछा छटपटाउन थाले। ज्योति नजिकको खहरे खोलाको पानी आफ्नो कुलोमा सोझ्याउन थाले। माधवले गणेशलाई सहयोग गर्न खोज्दै थिए। गणेशलाई सहयोग गर्न स्थानीय काशीनाथ भण्डारी पनि मिसिए। तर, अचानक बम पड्किएझैँ आवाज आयो।

मेलम्ची बाढीको छालले माधव, गणेश र काशीनाथलाई मडार्न थाल्यो। काशीनाथ कसोकसो बाँच्न सफल भए। माधव र गणेश बगे। बाबुरामले भने, ‘मेरो छोरालाई खेतमा नजाऊ भन्दै थिएँ तर उनी छिमेकीलाई सहयोग गर्नुपर्छ भन्दै दौडिए।

फर्केर आएनन्। म रमिते मात्रै भएँ।’

बाढी आउँदा बाबुरामको परिवारले घर छाडेर आश्रय लिएको मन्दिर पनि थर्किरहेको छ।
आमा रीता विरक्तिएकी छन्।

उनको आवाज बन्द छ। माधव पत्नी साना छोराहरू काखमा च्यापेर रोहिरहेकी छन्।
उनको सहारा टुट्यो। बास पनि टुट्यो। गाँस पनि रित्तिँदै छ।

बाबुरामले भने, ‘मेरो लौरी भाँचियो। अब न छोरोको सास न त बास छ।’

माधवका दाइ गोकुल बेसुर छन्। परिवारको सुरक्षा उनका लागि मुस्किल छ। उनले भने, ‘आफ्नो भाइ, खेत, घट्ट, मिल सबै गुम्यो। भाइ बेपत्ता छ। घर आफ्नै अगाडि ढ्ल्दै छ। सरकारको साथ शून्य छ।’

मेलम्ची बाढीले धार अझ तिखो बनाउँदै छ। सडक बगाएपछि आफन्तकहाँ गएर बाससमेत माग्न सकेको छैन भण्डारीको परिवारले। सञ्चारबाट टाढा यो परिवारले आफूलाई परेको बज्रपात आफन्तलाई सुनाउनसम्म पाएको छैन। पीडा र भयलाई च्यापेर भुइँमा रात बिताउन बाध्य छ यो परिवार। तर, उनीहरूको अवस्थाबारे स्थानीयबाहेक प्रदेश र केन्द्र सरकार बेखबर छ।

बाबुरामले भने, ‘हामीलाई राहतभन्दा सहयोगको खाँचो छ। हाम्रो घर बाढीले लग्न थाल्यो। सामान सारिदिने सहयोगीहरू पाएनौँ। उकालो–ओरालोमा सामान सार्दासार्दै हामीलाई पनि बगाउने डर छ।’

तस्बिरहरु: रविन आचार्य

 

असार ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्