सिलिगुडी-चारआली पाइपलाइन निर्माण शुरु हुन ढिलाइ, असोजबाट शुरु हुनसक्ने

झापा – चालु आर्थिक वर्षमै निर्माण शुरु हुने भनिएको भारतको सिलिगुडी-चारआली क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणको काम शुरु हुन केही समय ढिलाइ हुने भएको छ।

आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा उक्त पाइपलाइन निर्माणको काम शुरु हुने यस अघि बताइएको भए पनि आगामी असोज महिनाभित्र मात्र निर्माण शुरु हुनसक्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवसँग आयल निगमको चारआली डिपोको निरीक्षण गर्ने क्रममा ७ अर्ब ८० करोड भारतीय रुपैयाँको लागतमा पाइपलाइन तथा पेट्रोलियम पदार्थ भण्डारण डिपो निर्माण हुने कार्यकारी निर्देशक पौडेलले बताए।

सिलगुडी–झापा क्रसबोर्डर पेट्रोलियम पाइपलाइन परियोजना गौरवको आयोजना भएकाले तोकिएको समयमै सम्पन्न गर्न यस अघि पनि संसदीय समितिले दबाब दिएको थियो।

प्राविधिक टोलीले भारतको सिलगुडीबाट झापासम्म पाइपलाइन निर्माण गर्न तीन वटा सम्भावित मार्गबारे यस अघि नै अध्ययन गरिसकेको छ।

क्रसबोर्डर पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्र्याउने तथा कम्तीमा तीन महिनाको माग धान्ने गरी पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने सरकारको योजनालाई मूर्तरुप दिन पछिल्लो समय निगम लागि परेको निगमका इन्जिनियर भरत रेग्मीले बताए।

निर्माण गर्न लागिएको भण्डारण गृहले प्रदेश १ मा ९० दिनसम्म पेट्रोलियम पदार्थ धान्ने क्षमता राख्ने इन्जिनियर रेग्मीले जानकारी दिए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले पाइपलाइन र भण्डारण गृह निर्माणले पेट्रोलियम पदार्थको चोरीका घटना नहुने बताए।

उनले भने, ‘जुनै पार्टीको सरकार आए पनि यो काम रोकिँदैन। यो पार्टीले गरेको काम होइन, सरकारले गरेको काम हो।’

असार ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्