युरोकपमा आजदेखि समूहका अन्तिम खेलहरु, समूहगत समीकरण यस्तो छ

प्रशिक्षणका क्रममा इटालीका खेलाडी।

युरो कप फूटबल २०२० अन्तर्गत समूहका अन्तिम खेलहरु आइतबारदेखि सुरु हुँदैछन्।

अन्तिम खेल बाँकी रहँदा बेल्जियम, इटाली, नेदरल्यान्ड्सले मात्र दुवै खेल जितेका छन्। फ्रान्स,स्विडेन, इङ्ल्यान्ड, चेक गणतन्त्र र वेल्सले एक जित र एक बराबरी खेलेका छन्। टर्की, डेनमार्क र नर्थ मेसेडोनियाले दुवै खेल हारेका छन्।

६ वटा समूहका विजेता र उपविजेता तथा अंकका आधारमा चार वटा सर्वोकृष्ट तेस्रो टोलीले प्रिक्वाटरफाइनलमा स्थान बनाउनेछन्।

समूह ‘ए’अन्तर्गत आइतबार इटालीले वेल्स र टर्कीले स्विट्जरल्यान्डसँग खेल्दै छ। समूहमा २ खेलबाट ६ अंक जोडेको इटाली शीर्षस्थानमा छ। वेल्स २ खेलबाट चार अंक जोडेर दोस्रोमा छ। स्विट्जरल्यान्डको एक अंक छ भने टर्कीले खाता खोल्न सकेको छैन। इटालीले दोस्रो चरणमा स्थान बनाइसकेको छ। यी दुवै खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुने छ।

समूह ‘बी’मा बेल्जियम २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ। दुई खेलपछि रुस र फिनल्यान्डको ३/३ अंक छ। डेनमार्कले खाता खोल्न सकेको छैन। अन्तिम खेलमा रुस र डेनमार्क तथा फिनल्यान्ड र रुसबीच प्रतिस्पर्धा हुने छ। समूह ‘सी’मा २ खेलबाट ६ अंक भएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ। २ खेलपछि युक्रेन र अस्ट्रियाको ३/३ अंक छ। नर्थ मेसेडोनियाले अंक जोड्न सकेको छैन। अन्तिम खेलमा नेदरल्यान्ड्सले नर्थ मेसेडोनिया र युक्रेनले अस्ट्रियासँग प्रतिस्पर्धा गर्ने छ।

समूह ‘डी’मा २ खेलपछि चेक गणतन्त्र र इङ्ल्यान्डको ४/४ अंक छ। क्रोएसिया र स्कटल्यान्डको १/१ अंक छ। अन्तिम खेलमा क्रोएसियाले स्कटल्यान्ड र इङ्ल्यान्डले चेक गणतन्त्रको सामना गर्ने छ। समूह ‘इ’मा स्विडेनको ४, स्लोभाकियाले ३, स्पेनको २ र पोल्यान्डको एक अंक छ। अन्तिम खेलमा स्विडेनले पोल्यान्ड र स्पेनले स्लोभाकियासँग खेल्ने छ।

समूह ‘एफ’मा २ खेलपछि फ्रान्सको ४ तथा जर्मनी र पोर्चुगलको ३/३ अंक छ। हंगेरीको एक अंक छ। अन्तिम खेलमा जर्मनीले हंगेरी र फ्रान्सले पोर्चुगलसँग खेल्ने छ।

सर्वोत्कृष्ट तेस्रो टोलीको सूचीमा पोर्चुगल पहिलो, अस्ट्रिया दोस्रो, फिनल्यान्ड तेस्रो र स्पेन चौथो स्थानमा रहेको छ।

असार ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्