नदीले सडक कटान गरेका कारण हेलम्बुमा राहत सामग्री लैजान समस्या

तस्बीर/दिपा दाहाल

हेलम्बु – असार १ गतेको बाढीले सबैभन्दा धेरै क्षति पुर्‍याएको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा राहत लैजान समस्या भएको छ। मेलम्ची नगरपालिका केही ठाँउ र हेलम्बुका अधिकांश स्थानमा नदीले सडक कटान गरेका कारण स्थलमार्गबाट राहत सामग्री लैजान समस्या भएको हो।

बाढीले मेलम्ची नगरपालिकाको सिमखेत भन्ने स्थानमा सडक कटान गरेको छ। सो स्थानमा आजबाट मात्रै सडक सुचारु भएको छ। सडक नबन्दा हेलम्बु गाउँपालिकाको सिमानासम्म पनि सडकमार्गबाट राहत लैजान सकिएको थिएन। सो स्थानमा सडक सुचारु हुँदा हेलम्बु गाउँपालिकाको चनौटेसम्म यातायात सञ्चालन गर्न सकिन्छ।

चनौटेमा रहेको रातोपुल पनि जोखिमयुक्त भएपनि यातायात भने सञ्चालन भइरहेको छ। हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चनौटेको पुललाई बचाउन सके राहत र पुनःस्थापनाको काममा सजिलो हुने बताए।

जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरणमा एकरुपता ल्याउनको लागि भन्दै एकद्वार निति लागु गरेको छ। जसअन्तर्गत दाताले ल्याएको सबै राहत सामाग्री मेलम्चीस्थित इन्द्रेश्वरी माद्यामिक विद्यालयमा गोदाम गरिएको छ। सो स्थानमा गोदाम गरिएको सामाग्री पीडितको हातसम्म पुग्न सकेको छैन।

हेलम्बु गाउँपालिकामा लैजान भनि दाताले ल्याएको राहत सामग्रीसमेत मेलम्चीमा नै रोक्ने गरिएको छ। हेलम्बुमा भने हेलिकोप्टरबाट पुर्‍याइएको सामग्रीको मात्रै भर पर्नुपर्दा पीडितले आधारभूत आवश्यकताका सामग्रीसमेत पाउन सकेका छैनन्।

हेलम्बु गाउँपालिकाभित्रका ६ वटा झोलुङ्गे पुल र ३ वटा पक्की पुलमा पूर्ण क्षति भएको छ। बाँकी रहेको एउटा रातोपुलसमेत उच्च जोखिममा छ। बाढीले हेलम्बु गाँउपालिका सडक र सञ्चार सञ्जालबाट टाढिएको छ।

नेपाल टेलिकमको मोबाइल सेवा बन्द जस्तै छ भने एनसेल चलाउने ग्राहकले समेत मोबाइल चार्ज गर्न पाएका छैनन्। विद्युत् आपूर्ति बन्द भएकोले सोलार बत्ति अहिले त्यहाँको प्रमख आवश्यकता भएको छ। नेपाली सेनाले हेलिकोप्टरमार्फत केही टेन्ट लगेर टाँगेको भएपनि त्यो पर्याप्त हुन सकिरहेको छैन।

बाढीले अझै कटान गर्न छाडेको छैन। यस्तो अवस्थामा सडकमार्ग सुचारु गर्न विभिन्न प्रविधिको प्रयोग गरी बस्तीहरुलाई सडक सञ्जालसँग जोडीराख्न सकिए मात्र पीडितको आधारभूत आवश्यकता पूरा गर्न सकिने स्थिति छ।

असार ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्